२०८३ बैशाख २० गते , आईतबार

अर्जुनधारामा शतबीज छर्ने भक्तजनको घुँइचो

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २५ गते , सोमबार
अर्जुनधारामा शतबीज छर्ने भक्तजनको घुँइचो

बिर्तामोड । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सम्झनामा झापाको अर्जुनधारामा शतबीज छर्न श्रद्धालुहरुको घुँइचो लाग्ने गरेको छ ।
आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन अर्जुनधारा आउने गरेका छन् ।
शतबीज छर्न भारतको दार्जिलिङ, सिक्किमलगायत विभिन्न भागबाट आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदेशीको बिहानैदेखि अर्जुनधारा क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि भक्तजनको धाममा भीड लाग्ने गरेको छ । धाम क्षेत्रमा आइतबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति रहने गरी व्यवस्था मिलाइएको थियो ।
शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ । हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार शतबीज भन्नाले धानका सय गेडा छर्नुपर्ने अरु अन्न होइन भन्नुहुन्छ धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम ।
'भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ'–उहाँले भन्नुभयो ।
चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।

सम्बन्धित समाचार