नारी संचार गृहद्वारा लैंगिक हिंसासम्बन्धि तालिम सम्पन्न
बिर्तामोड । झापाली महिला पत्रकारहरुको छाता संस्था नारी सञ्चार गृहले लैंगिक हिंसाको अवस्था, प्रकृति र कानूनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम सम्पन्न गरेको छ ।
किशोरावस्थाका बालबालिकालाई लक्षित गरी बिर्तामोड–६ स्थित सरस्वती माविमा आयोजित कार्यक्रममा लैंगिक हिंसामा प्रविधिको प्रयोग, हिंसाको प्रकृति, समाजमा देखिएका हिंसाजन्य घटनाक्रम, हिंसामा पर्न सकिने संभावित जोखिम र बच्ने उपाय लगायतका विषयमा जानकारी गराइएको थियो । यस बिषयमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब निरीक्षक सुवास मिश्रले सहजीकरण गरेका थिए । त्यसैगरी लैंगिक हिंसा, बाल हिंसा, बालबिवाह, बलात्कार जस्ता जघन्य अपराधजन्य घटनामा दोषी उम्काउन गरिने प्रयास र पीडितले अपनाउनु पर्ने सचेतता र कानूनी व्यवस्था जस्ता विषयमा कानून व्यवसायी लक्ष्मी खनालले सहजीकरण गरेका थिए ।
बिर्तामोड नगरपालिका वडा नम्बर ६ कि महिला वडा सदस्य गीता शर्मा रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि सरस्वती मावि बुट्टाबारीका प्रधानाध्यापक दिपक लुइँटेल, वडा सदस्य जीवन बास्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा एकसयभन्दा बढी सहभागी कार्यक्रममा सहभागी विद्यार्थीका तर्फबाट लाक्पा डोल्मा तामाङ र अनिस श्रेष्ठले कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिंदै दैनिक जीवनमा कार्यान्वयन गर्न र गराउन भूमिका खेल्ने धारणा राखेका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहाल, निर्वतमान अध्यक्ष भिमा शिवाकोटी लगायतको उपस्थिति रहेको रहेको थियो ।
वडा नम्बर ६ को सहयोगमा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष अम्बिका भण्डारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दैै सुरक्षित महिनावारी दिवसको अवसरमा विद्यार्थीहरुलाई महिनावारी सम्बन्धी जानकारी गराएकी थिइन् । कार्यक्रम संयोजक टिका पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव जोश्ना श्रेष्ठ गरेकी थिइन् ।