हर्कलाल मार्ग बेतिथी : एक हप्तामा काम सुचारु नगरे ठेकेदारलाई कारबाही गरिने
बिर्तामोड । झापाको बिर्तामोडस्थित हर्कलाल मार्गको स्तरोन्नतीमा ठेकेदारले लापरबाही गर्दा उपभोक्ता समस्या झेल्न बाध्य छन् । ठेक्का सम्झौता सकिएको दोब्बरसमय बितिसक्दापनि काम सम्पन्न नहुँदा उपभोक्ता सडकको धुलो र हिलोबाट आजित भएका हुन् ।
तीन बर्ष अघिनै सम्पन्न भइसक्नु पर्ने सडक निर्माणको काम हालसम्म पनि यथावत रहँदा सडक आसपासका मासिनहरु सडकको धुलो र हिलोका कारण हैरानी व्यहोरिरहेका छन् । २०७५ साल असारमा द कञ्चनजंगा कन्ट्रक्सन प्रालिले दुई बर्षभित्र सम्पन्न गर्ने गरी १० मिटर चौडाइको सडक र नालासमेत १ किलोमिटर सडक खण्ड ४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयमा सम्झौता गरेको थियो । तर ठेक्का सम्झौताको समय सकिएको तीन बर्ष बितिसक्दा पनि सडक निर्माण सम्पन्न नहुँदा स्थानीयबासी धुलो खान बाध्य भएको स्थानीयबासी तथा बिराट आदर्श टोल विकास संस्थाका अध्यक्ष सन्तोष उप्रेतीले दुखेसो पोखे ।
रिङ रोडको रुपमा रहेको सडक निर्माणमा ठेकेदारमात्र नभई पूर्वाधार विकास कार्यालयको समेत लापरबाही रहेको उप्रेतीको भनाई छ । समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदारलाई कारबाही गर्न नसक्नु पूर्वाधार कार्यालयको चरम लापरबाही भएको स्थानीयबासीहरुको भनाई छ । हर्कलाल मार्गको सो सडक खण्ड समयमा पुरा नहुँदा गत बर्ष थप एक करोड रुपैँया फ्रिज भएको उप्रेतीले बताए ।
ठेकेदार र पूर्वाधार विकास कार्यालयले चरम लापरबाही गरेर स्वास्थ्यमा नै खेलबाड गरेको भन्दै स्थानीयले भद्रपुर रोडस्थित प्रकाश पेट्रोल पम्प छेउ सडकमा बाँस बाँधेर आवतजावत बन्द गराएका छन् । ठेकेदारले काम शुरु नगरुञ्जेल अवरोध नहटाइने उनीहरुको भनाई छ ।
पूर्वाधार विकास कार्यालय चन्द्रगढीका प्रमुख रमेशकुमार श्रेष्ठले ठेकेदारसँग कुरा भईसकेको बताउँदै एक हप्ता भित्र काम शुरु नगरे ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडी बढाइने बताए । ‘ठेकेदारलाई मैले भनिसक्याछु,’ उनले भने, ‘एक हप्ता भित्रमा हेर्नुस काम शुरु नगरे कालोसूचीको लागि प्रक्रिया अगाडी बढ्छ ।’ हालसम्म ५२ प्रतिशत काम भएको उनले बताए । सडकको बेस जाँचेर कालोपत्रेको काम बाँकी रहेको श्रेष्ठले जानकारी दिए । त्यो भागको काम सम्पन्न भइसकेपछि बाँकी सडकखण्डको काम पनि शुरु हुने कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।
रिङ रोडको रुपमा रहेको हर्कलाल मार्ग सम्पन्न भए सदरमुकाम जाने सवारीले बाइपासको रुपमा उक्त सडक प्रयोग गर्ने र भद्रपुर रोडमा सवारी साधनको चाप कम हुने देखिन्छ ।