लैंगिक हिंसा सामाजिक दर्शनको उपज हो : माओवादी नेतृ चापागाईंं
बिर्तामोड । संविधानसभा सदस्य एवम् नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य धर्मशिला चापागाईंंले समाजमा जकडिएर रहेको लैंगिक हिंसा सामाजिक चिन्तनको उपज भएको बताइएकी छन् । बिहीबार झापाको अर्जुनधारामा आयोजित ‘लैंगिक हिंसा एवम् मानव अधिकारको अवस्था बिषयक’ अन्तरक्रियामा बोल्दै चापागाईंंले त्यस्तो धारणा राखेकी हुन् ।
सम्बोधन महिला सरोकार केन्द्र झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी चापागाईंंले समाजले अंगालेको दर्शनले निर्माण गरेको संरचनामा समाज चल्ने र लैंगिक हिंसा त्यसैको उपज भएको बताइन् । लैंगिक हिंसाले महिला हिंसा मात्र नभएर महिला पुरुष दुवैलाई बुझाउने उनले बताइन् । समाजमा केहि मात्रामा पुरुषपनि हिंसामा पर्ने गरेको उनको भनाई छ ।
लैंगिक हिंसा अत्यन्तै ठूलो बिषय भएकाले ससाना छलफलबाट न्यूनीकरण नहुने भन्दै उनले यस्ता कार्यक्रम, अभियानहरु भने जारी राख्नु पर्ने बताइन् ।
नेपाली समाज पितृसत्तात्मक भएकाले बढी महिलाहरु हिंसामा पर्ने गरेको उनको भनाई थियो । चापागाईंले महिलाहरु राजनीतिक सामाजिक क्षेत्रमा बाहिर निस्कँदा बालबालिकाहरु हिंसामा पर्ने गरेको बताइन् । महिलाहरु घर बाहिर ननिस्कँदा, आन्दोलन र अभियानमा सहभागी नहुँदा समाजमा महिला हिंसा रहिरहने हुँदा महिलाहरु दोहोरो मारमा पर्ने गरेको उनको भनाई थियो । संविधानको माध्यमबाट नै हिंसा न्यूनिकरण गर्नुपर्नेमा उनले जोड दिइन् ।
सम्बोधन महिला सरोकार केन्द्रले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको केन्द्रकी अध्यक्ष लक्ष्मी न्यौपाने (सरु)ले जानकारी दिइन् । लैंगिक हिंसा न्यूनिकरणका लागि जनचेतना जगाउने, अहिलेको अवस्थाको बारेमा जानकारी गराउने र समाजमा जागरुकता ल्याउने कार्यक्रमको उद्धेश्य रहेको उनले बताइन् । स्थानीय न्यायिक समिति लगायत सिंगो समुदायको जागरुकता र सक्रियताबाट नै जनचेतना वृद्धि र लैंगिक हिंसा न्यूनिकरण गर्न सकिने उनले बताइन् ।
इलाका प्रहरी कार्यालय अनारमनीको सहजीकरणमा भएको कार्यक्रममा इप्रका अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले लैंगिक हिंसाको बिषयमा केहि तथ्याङ्क प्रस्तुत गरेका थिए । पुरुषहरु हिंसामा पर्ने भएपनि उजुरी दिने संख्या अत्यन्त न्यून भएको उनले बताए । मुख्यत वैदेशिक रोजगारीमा गएका पुरुषहरुले आफुले विदेशमा कमाएको रकमसहित श्रीमती अर्कैसँग गएकी, आफु विदेशमा छँदा श्रीमतीले अन्य पुरुषसँग सम्बन्ध बनाएकी जस्ता गुनासो आउने गरेको उनले बताए । यहाँ भएका आत्महत्याको घटनालाई हेर्ने हो भने पुरुषको संख्या बढी भएको उनले बताए । प्रायः जसो परिवारमा पुरुष नै घरको मूली हुने र आर्थिकलगायतका तनावका कारण उनीहरुले आत्महत्या गर्ने गरेको पाइएको उनको भनाई थियो ।
हिंसा परिवारमा मात्र नभएर कार्यस्थलमा, कार्यालयमा, विद्यालयआदि सबै क्षेत्रमा हुने गरेको डीएसपी कार्कीले बताए । चालु आवमा ७२ वटा लैंगिक हिंसाका उजुरी परेको उनले जानकारी दिए ।
इन्सेकका प्रतिनिधी नरेश खातीले अर्जुनधारा वडा नम्बर ८ र ९ मा भएको हत्याको घटनाका बिषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहनप्रसाद ओली, अर्जुनारा वाणिज्य संघका इन्दिवर खड्का,
नेकपा माओवादी केन्द्र अर्जुनधाराका अध्यक्ष नारद दुखी, वडा नम्बर ८ की सदस्य सरु बुढाथोकी, वडा न ९ का भिष्म मिश्रलगायत उपस्थित रहेका थिए ।
महिला मजदुर जागरण केन्द्रकी अध्यक्ष सिता -सन्ध्या_ सापकोटाले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी, महिला, संघसंस्थाका प्रतिनिधीलगायत सहभागी थिए ।