बैंकले ऋण नदिएको भन्दै कर्मचारी लिएर प्रहरीकहाँ गए सेवाग्राही
बिर्तामोड । बैंकले ऋण नदिएको भन्दै बिर्तामोडस्थित एक बैंकको कर्मचारीमाथि सेवाग्राहीले आक्रोश पोखेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) बिर्तामोडका सहायक प्रबन्धक दिनेश पनेरुलाई सेवाग्राही राजेश बास्कोटासहितको समूहले आक्रोश पोख्दै प्रहरीकहाँ पुर्याएका हुन् ।
दुर्गा प्रसाईको अभियान समर्थक बास्कोटा समूहले बैंकका सहायक प्रबन्धक पनेरुलाई मंगलबार बिहान कार्यालय जान लागेको अवस्थामा चिया खान लगेको प्रहरीले जनाएको छ । चिया पसलमा बैंकले स्वीकृत गरेको ऋण एकमुष्ट नदिएको भन्दै बास्कोटा समूह र पनेरुबिच बादविवाद भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । बादविवाद पश्चात पनेरुलाई छलफलका लागि बीएण्डसी अस्पताल जान जबर्जस्ती गरेको तर पनेरु जान नमानेपछि इलाका प्रहरी कार्यालय लिएर आएको उनले बताए । दुर्गा प्रसाईका समर्थक देवी संग्रौलाको नेतृत्वमा उक्त गतिविधी भएको भन्दै प्रहरीले संग्रौलालाई केहि समय छुट्टै निगरानीमा राखेको थियो ।
बैंकले बास्कोटाले बाहुण्डाँगीमा सञ्चालन गरेको बास्कोटा कृषि तथा पशुपालन फर्ममा लगानी गरेको थियो । उक्त फर्मसँगै बास्कोटाले रिसोर्टका लागि पुनः ऋण स्वीकृत गराएको बैंक स्रोतले बतायो । बास्कोटाले उक्त फर्मको समेत नियमित किस्ता तिरेका थिएनन् । यता रिसोर्टको लागि पाँच करोड ऋण स्वीकृत गराएका बास्कोटाले ३ करोड २७ लाख लगिसकेको र बाँकि एक करोड रुपैँया बैंकसँग निकासाका लागि पटक पटक माग गरेको डीएसपी कार्कीले बताए । तर, फर्मको नियमित साँवा व्याज नआइरहेको र प्रोजेक्ट लोन प्रोग्रेस रिपोर्टको आधारमा किस्ता किस्ता गरेर दिइने भएपनि बास्कोटाले एकैपटक ऋण निकासाका लागि भन्ने गरेको बैंक स्रोतको दाबी छ ।
सेवाग्राही र बैंकबिच विवाद उत्पन्न भएपछि समस्या समाधानका लागि बैंकका कोशी प्रदेश प्रमुख राजिव गजुरेलसमेत आएको बताइएको छ । इलाका प्रहरी कार्यालयमा भएको छलफलमा एकैपटक ऋण प्रवाह गर्ने बिषयमा शाखा कार्यालयले निर्णय गर्न नसक्ने र प्रमुख कार्यकारी अधिकृतसँग समन्वय गरेर बुधबार जानकारी दिनेमा सहमति भएर छलफल टुंगिएको डीएसपी कार्कीले जानकारी दिए ।