नवराज विकसहित ६ जनाको हत्या आरोपमा २३ जनालाई जन्मकैदको फैसला
काठमाण्डौ । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
न्यायाधीश खड्गबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत छन् ।
यसअघि नै धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएका छन् । साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् ।
नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २र२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।
उनीहरुमाथि ६ जनाको ज्यान मारेको, अरु १२ जना घाइतेहरुको ज्यान मार्ने प्रयास गरेको र जातीय छुवाछुत गरेको आरोप थियो ।
२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । २०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको संख्या बढी हुँदा सुनुवाइमै लामो समय लागेको थियो । मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ गरी मंगलबार फैसला आएको हो ।