टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारले पायो निरन्तरता
बिर्तामोड । टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारले निरन्तरता पाएको छ । हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिकाले वितरण गर्दै आएको उक्त पुरस्कार यस बर्षदेखि पुनः निरन्तर वितरण हुने भएको हो ।
पुरस्कार वितरणका लागि अक्षयकोषको स्थापना गर्ने सम्झौता भएको छ । अक्षयकोष स्थापनाका लागि हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबिच आइतबार काठमाण्डौमा दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा भएको सम्झौता अनुसार पाँच लाख रुपैयाँको अक्षयकोष राखिने छ ।
सम्झौतामा हेम–सरिता फाउण्डेसनको तर्फबाट अध्यक्ष हेम पाठक र नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष एकराज गिरीले हस्ताक्षर गरेका छन् । फाउण्डेसनसँग सम्झौता पत्रमा हस्ताक्षर गर्न पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र सहसचिव राजु पाठक काठमाण्डौ गएका थिए ।
अक्षयकोषको व्याजबाट प्रत्येक बर्ष भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाइ ५० हजार पाँच सय ५५ रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ । हेम–सरिता फाउण्डेसनका संस्थापकका पिता टंकप्रसाद पाठक र माता रमादेवी पाठकको नामबाट उक्त पुरस्कार वितरण हुँदै आएको थियो । फाउण्डेसनले नियमित वितरण गर्दै आएको उक्त पुरस्कार केहि बर्षदेखि वितरण हुन सकेको थिएन । पत्रकार महासंघ झापाको पहलमा पुरस्कारले निरन्तरता पाएको हो ।
पुरस्कार वितरण यसै वर्षबाट गर्ने र यस वर्षको पुरस्कारको राशि आइतबार नै फाउण्डेसनले पत्रकार महासंघ झापालाई हस्तान्तरण गरेको छ । महासंघ झापाले यस वर्षको पुरस्कार छनोटको प्रक्रिया अघि बढाइसकेको छ ।
आगामी वर्षबाट भने महासंघको आयोजनामा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन डिसेम्बर ९ तारिखमा उक्त पुरस्कार प्रदान गरिने महासंघ झापाका सहसचिव राजु पाठकले बताए ।
महासंघले अक्षयकोष सञ्चालन र पुरस्कार व्यवस्थापनको कामलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन छुट्टै कार्यविधि तयार गरी लागू गर्ने तथा सबै काम कार्यविधि अनुसार गरिने जनाइएको छ ।
बिर्तामोड–४ स्थायी घर भई हाल अमेरिकाको टेक्सासमा रहेर व्यापार व्यवसायका साथै सामाजिक कार्यमा संलग्न हेम पाठक र सरिता पाठकले स्थापना गरेको हेम–सरिता फाउण्डेसनले सामाजिक सँगै विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।