टेकनाथ रिजालसहित ६ जनालाई धरौटीमा छाड्न आदेश
बिर्तामोड । भुटानी शरणार्थी प्रकरणमा मंसिर ५ गतेदेखि निरन्तर भएको सुनुवाई पछि शुक्रबार उच्च अदालत पाटनले आदेश गरेको छ । शुक्रबार उच्च अदालतले ९ जनालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले प्रतिवादीहरु टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामा पठाउने काठमाण्डौ जिल्ला अदालतको आदेश सदर गरेको हो ।
त्यसैगरी उच्च अदालत पाटनले भुटानी अधिकारवादी नेता टेकनाथ रिजालसहित छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीहरुलाई काठमाण्डौ जिल्ला अदालतले थुनामै राख्ने आदेश दिएको थियो । प्रतिवादीहरु टेकनाथ रिजालसँग १५ लाख, नरेन्द्र केसीसँग १० लाख, हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियासँग १० लाख, सन्दीप रायमाझीसँग ३० लाख र रामशरण केसीसँग १५ लाख धरौटी माग गरेको छ । उच्च अदालतले माग गरेको धरौटी बुझाएमा उनीहरु थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् ।
त्यसैगरी काठमाण्डौ जिल्ला अदालतले धरौटी लिई थुनामुक्त गरेको लक्ष्मी महर्जन र केशव तुलाधरलाई साधारण तारेखमै रिहा गर्न आदेश दिएको छ । त्यसैगरी पहिले थुनामा पठाइएका आशिष बुढाथोकी र टंक गुरुङलाई पनि साधारण तारेखमै रिहा गर्न आदेश दिएको छ ।
प्रतिवादी बालकृष्ण खाँणको हकमा भने दुई न्यायाधीशको राय बाझिएकाले तेश्रो न्यायाधीशको इजलासमा सुनुवाइका लागि पेश गर्ने आदेश भएको छ । तेश्रो न्यायाधीशको आदेशपछि खाँण धरौटीमा छुट्ने वा थुनामै रहने भन्ने आदेश हुनेछ ।
१० दिन लामो निरन्तर सुनुवाइपछि उच्च अदालत पाटनले काठमाण्डौ जिल्ला अदालतले गरेको आदेशविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गरी शुक्रबार आफ्नो आदेश सुनाएको हो । यसअघि काठमाण्डौ जिल्ला अदालतले यस प्रकरणमा गत असार १ गते आफ्नो आदेश सुनाएको थियो ।