मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्ड धमाधम निर्माण हुँदै
बिर्तामोड । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डको निर्माण कार्य धमाधम भइरहेको छ । झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडक खण्डमा पर्ने पुल निर्माण कार्य चलिरहेको हो ।
सो खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटा निर्माण भएका छन् । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उनले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेको जानकारी दिए ।
हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ। डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयंग, तेली, बिजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको उनले बताए। यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको चार सय मिटर, तेली खोलाको तीन सय मिटर र सबैभन्दा छोटो डाले र बुकवा खोलाको ४० मिटर दूरीका पुल निर्माण भएका छन्।
उनले कतिपय पुलको मूल संरचना सकिए पनि रूख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको बताए । उनले भने, ‘सबै पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, तर बजेट अभावमा कामले गति लिन सकेको छैन ।’ उनले १० अर्ब १३ करोड लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइए पनि सम्झौता गरिएका अधिकांश योजनाको भुक्तानी गर्न अझै तीन अर्ब ५० करोड रुपैयाँ बाँकी रहेको बताए ।
सरकारले चालु आर्थिक वर्षमा ५० करोड मात्र सो राजमार्गका लागि बजेट विनियोजन गरेको छ । सो बजेटबमोजिमको निर्माण कार्य सकिएकाले हाल सरकारलाई थप बजेटका लागि पत्रसमेत पठाएर पहल गरिरहेको उनको भनाइ छ ।