२०८३ बैशाख १९ गते , शनिबार

झापाका प्रजिअ शिवराम पोखरेलसहित ७१ सहसचिवको सरुवा

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ११ गते , सोमबार
झापाका प्रजिअ शिवराम पोखरेलसहित ७१ सहसचिवको सरुवा

बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको सरुवा भएको छ । सरकारले पोखरेलसहित ७१ जना सहसचिवहरूको सरुवा गरेको हो । मंसिर ७ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।

पोखरेल गत माघ १२ गतेदेखि झापामा कार्यरत रहेका थिए । उनको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदुरपश्चिम प्रदेशमा प्रदेश सचिवको रुपमा सरुवा भएको छ । पोखरेलको ठाउँमा को आउने भन्ने टुंगो लागेको छैन । 

सरकारले करिब एकैपटक संघ, प्रदेश र स्थानीय तहमा ठूलो संख्यामा सहसचिव हेरफेर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह, रक्षा, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, श्रम रोजगार तथा सामाजिक सुरक्षा, भूमि व्यवस्था तथा सहकारी, शहरी विकास लगायतका मन्त्रालयहरूमा नयाँ सहसचिवहरुलाई ल्याएको छ ।

विभिन्न प्रदेशका मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरुमा पनि नयाँ सहसचिवहरु पठाइएको छ । वीरगञ्ज महानगरपालिकामा मातृका भट्टराई नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका छन् ।

एक महिनाअघि नै संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालयले ५५ जना सचिवको सरुवाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । तर, मन्त्रीहरुबीचको मतभेद र कर्मचारीहरुको स्वार्थका कारण सरुवाको सूचीलाई अन्तिम रुप दिन सरकारलाई सकस परेको थियो ।

यसपटक संघीय मामिला मन्त्रालयले प्रदेशमा बढी समय बिताएकाहरुलाई संघमा ल्याउन र संघमा धेरै सयम काम गरेकालाई प्रदेशमा पठाउनुपर्ने अडान लिँदा निर्णय गर्न ढिलाइ भएको थियो ।

सम्बन्धित समाचार