उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ
बिर्तामोड । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन हुँदैछ । यतिबेला तराई तथा काठमाण्डौका नदि तथा तालमा भक्तजनहरुको घुइँचो लागेको छ । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व सम्पन्न गरिन्छ ।
पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् । यो दिन व्रत गर्ने व्यक्ति र घरका सबै परिवारले दाल, चामल र लौकाले बनेको व्यञ्जन प्रसादको रुपमा ग्रहण गर्छन् ।
त्यस्तै दोस्रो दिन, कार्तिक शुक्ल पञ्चमीको दिन साँझमा मुख्य पूजा हुन्छ । यसलाई ‘खरना’ भनिन्छ । प्रसादको रुपमा उखुको रस अथवा सख्खरबाट बनेको खीर चढाइन्छ । धेरै घरहमा चामलको पिठोबाट बनेको परिकार पनि बनाइन्छ । मानिसहरु छठको पूजा गरिएको घरमा गएर प्रसाद ग्रहण गर्छन् ।
तेस्रो दिन कार्तिक शुक्ल षष्ठीको साँझमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ । यो दिन व्रतालुसंगै अन्य मानिस पनि नदीमा डुबेर सूर्यलाई अर्घ दिन्छन् ।
चौथो दिन कार्तिक शुक्ल सप्तमीको दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर नमस्कार गर्दै यो व्रत समाप्त हुन्छ । उनीहरुले मुख्य प्रसादको रुपमा ठेकुवा ग्रहण गर्ने गर्दछन् ।
छठ पूजाका लागि झापाको मेची, बिरिङ, कनकाई, अदुवा खोला लगायतमा घाट निर्माण गरिएको थियो ।