विरिङमा छठ पूजाको तयारी तीब्र, प्रमुख अतिथी सभामुख घिमिरे आउने
बिर्तामोड । श्री छठ समाज सेवा समिति बिर्तामोडले यस बर्षको छठ पूजाको तयारी तीब्र भइरहेको जनाएको छ । समितिले विहीबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी घाट निर्माण धमाधम भइरहेको जनाएको हो ।
बर्षेनी श्रद्धालु भक्तजनको संख्या बढ्दै गएकाले कनकाईको विरिङ किनारमा यो बर्ष करिब एक हजार घाट निर्माण गरिने समितिकी बरिष्ठ उपाध्यक्ष तथा प्रचार संयोजक संगिता रौनियारले जानकारी दिइन् । छठ पूजाका साथै वृहत साँस्कृतिक कार्यक्रमलाई सफल बनाउन संस्थाका उपाध्यक्ष मनोज साहको संयोजकत्वमा विभिन्न उपसमिति निर्माण गरिएको छ । रौनियारको संयोजकत्वमा पाँच सदस्यीय प्रचार उपसमिति निर्माण गरिएको छ । शंकर भगतको संयोजकत्वमा घाट तथा विजुली व्यवस्थापन उपसमिति, महासचिव अशोककुमार चौधरीको संयोजकत्वमा अर्थ उपसमिति, मनोज साहको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा साँस्कृतिक कार्यक्रम उपसमिति, प्रेमचन्द्र चौधरीको संयोजकत्वमा शान्ति सुरक्षा उपसमिति र सत्य नारायण चौधरीको संयोजकत्वमा प्रसाद व्यवस्थापन उपसमिति निर्माण गरिएको अध्यक्ष रामेश्वर द्विवेदीले जानकारी दिए ।
एक दशकदेखि गरिँदै आएको छठ पूजाको व्यवस्थापनमा छठ युवा फ्रण्ट र छठ महिला मञ्चको समेत सहभागिता रहने बताइएको छ । कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधीसभाका सभामुख देवराज घिमिरे रहने कार्यक्रममा जानकारी दिइयो । पत्रकार सम्मेलनमा समितिका निवर्तमान अध्यक्ष राजकुमार गुप्ता, पूर्व अध्यक्ष घनश्याम चौधरी, उपाध्यक्ष मनोज साहलगायतले कार्यक्रमका बिषयमा जानकारी गराएका थिए ।
कात्तिक शुक्ल चतुर्थी -चौथी_देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व सम्पन्न गरिन्छ । पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् । यो दिन व्रत गर्ने व्यक्ति र घरका सबै परिवारले दाल, चामल र लौकाले बनेको व्यञ्जन प्रसादको रुपमा ग्रहण गर्छन् ।
त्यस्तै दोस्रो दिन, कार्तिक शुक्ल पञ्चमीको दिन साँझमा मुख्य पूजा हुन्छ । यसलाई ‘खरना’ भनिन्छ । प्रसादको रुपमा उखुको रस अथवा सख्खरबाट बनेको खीर चढाइन्छ । धेरै घरहमा चामलको पिठोबाट बनेको परिकार पनि बनाइन्छ । मानिसहरु छठको पूजा गरिएको घरमा गएर प्रसाद ग्रहण गर्छन् ।
तेस्रो दिन कार्तिक शुक्ल षष्ठीको साँझमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ । यो दिन व्रतालुसंगै अन्य मानिस पनि नदीमा डुबेर सूर्यलाई अर्घ दिन्छन् ।
चौथो दिन कार्तिक शुक्ल सप्तमीको दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर नमस्कार गर्दै यो व्रत समाप्त हुन्छ ।
विशेष गरी मधेसी समुदायले मनाउँदै आएको छठ पूजामा अन्य समुदायको समेत सहभागिता बढ्दै गएको छ ।