भाइटिकाको साइत १०:५१ मा, लगाइदिने पश्चिम र लगाइमाग्ने पूर्व फर्कनु उत्तम
बिर्तामोड । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।
टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।
भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको छ ।
शास्त्र अनुसार तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ तर शास्त्रीय मान्यता भन्दा चलनचल्तीमा भने फरक छ ।
भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले बताए ।
यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने भएकाले दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्किनुपर्ने उनको भनाइ छ । हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ ।