एसपीले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु
बिर्तामोड । धरानमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) ले चलाएको गाडीको ठक्करबाट झापामा एक युवकको मृत्यु भएको छ।
प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक ५१ वर्षीय भीमबहादुर दाहालले चलाएको गाडीको ठक्करबाट कमल गाउँपालिका-६ निवासी १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका-८ बिरिङ पुल नजिकै शुक्रबार राती ७ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च ७८३९ नम्बरको स्कारपियो र बिपरित दिशाबाट आउँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल ठोक्किंदा दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका मर्डीलाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो। मोटरसाइकलमा ३ जना सवार थिए। दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका-६ निवासी १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका छन्।
चालक एसपी दाहाल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।