चीनले दिएको राहत सामाग्री आइपुग्यो, भूकम्प प्रभावित क्षेत्रमा पठाइँदै
बिर्तामोड । शुक्रबारको भूकम्पका कारण पीडित बनेकाहरुका लागि चीनले दिएको १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री नेपाल आइपुगेको छ ।
काठमाण्डौस्थित चिनियाँ राजदूत छन् सोङले सोमबार झिलाङ–रसुवागढी नाका हुँदै उक्त मूल्य बराबरको पहिलो लटको राहत सामग्री नेपाल आईसकेको र त्यसलाई अब सिधै जाजरकोट र रुकुम पठाउने बताएका छन् ।
राजदूत सोङका अनुसार यो राहत सामग्रीमा २ हजार ३०० थान टेन्ट, २ हजार थान कम्बल, ७०० थान त्रिपाल, ५०० स्प्रेयर सामेल छन् । चीनले भूकम्पपीडितका लागि थप राहत सामग्री पठाउने जनाएको छ । उसले थप राहत सामग्री आउने क्रममा रहेको उल्लेख गरेको छ ।
चिनियाँ राजदूत सोङले नेपालको प्राकृतिक विपतको यो घडीमा सबैजना मिलेर संकटलाई टारेर अघि बढ्ने बताए । उनले भूकम्प पीडितको घर पुनर्निर्माणमा पनि सघाउने बताएका छन् ।
सोमबार मात्रै राजदूत सोङले प्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । उक्त भेटमा भूकम्प पीडितलाई राहत र पुनर्निर्माणका विषयमा कुराकानी भएको थियो ।