सूचना पाउनु नागरिकको हक हो : आयुक्त थापा
बिर्तामोड । सार्वजनिक निकायले सम्पादन गर्ने कार्य सम्बन्धि सूचना पाउनु नागरिकको हक भएको बताइएको छ ।
राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली थापाले नागरिकले सूचना पाउनु मौलिक हक भएको बताएकीहुन । बिर्तामोड नगरपालिकाले आयोजना गरेको सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सूचना आयुक्त थापाले माग गरेको बखत नागरिकलाई सार्वजनिक निकायले सूचना दिनु पर्ने बताइन । विधीपूर्वक माग गरिएको सुचना नदिए कारबाही हुने आयुक्त थापाले जानकारी दिइन । सूचना नदिए, आंशिक दिए वा लुकाएमा २५ हजारसम्म जरिवाना र पिडितलाई क्षतिपूर्तिसम्म दिनुपर्ने कानुनी ब्यवस्था रहेको उनले बताइन ।
कार्यक्रममा सहभागीहरुले महत्वपूर्ण कार्यक्रम भए पनि नगरपालिकाले सहभागिताका लागि सार्वजनिक सूचना नगरेको, बिर्तामोड नगरपालिकामा सूचना अधिकारीको नाम र नम्बरसहितको सुचना पाटी नराखेको भन्दै गुनासो गरे ।
नेपालको संविधान २०७२ को धारा २७ र सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ मा नागरिकलाई सुचनाको हक सम्बन्धि ब्यवस्था गरिएको छ ।