जाजरकोट भुकम्पमा परी १२८ जनाको मृत्यु, प्रधानमन्त्री प्रचण्ड मेडिकल टिमसहित प्रभावित क्षेत्रमा
बिर्तामोड । गएराति जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भुकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा गरी १२८ जनाको मृत्यु भएको छ । जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।
भूकम्पका कारण भेरी नगरपालिकास्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ ।
नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् ।
धेरै क्षति भएको नलगाड बस्नेतको गाउँ हो ।
सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ ।
सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।
खड्काका अनुसार, दाङबाट विपद् उद्दारका लागि डीआरएस (डिजास्टर रेस्पोन्स सिस्टम)को कन्टेनर पश्चिम रुकुमतर्फ पठाइएको छ । त्यस्तै, सुर्खेतबाट दुई वटा कन्टेनर जाजरकोटतर्फ पठाइएको एसएसपी खड्काले बताए ।
‘डीआरएस कन्टेनरमा खाद्यान्नबाहेक उद्दारका सबै सामग्रीहरु हुन्छ, अहिले कुरिनटार र सिनामंगलरमा पनि डिजास्टर म्यानेजमेन्टको तालिम लिएको टोली तैनाथ राखिएको छ’, उनले भने, ‘थप मेडिकल रेस्पोन्डरको टोली पनि पठाउन तैनाथ गरेका छौं ।’
एसएसपी खड्काका अनुसार, महेश्वरी बाहिनी सुर्खेतबाट खोज तथा उद्दारका लागि टोली जाजरकोटमा खटिएको छ । उपत्यका गणबाट पनि टोली तैनाथ छ ।