१७ बर्षीया जुनु बनिन् ‘नमुना युवा प्रधानमन्त्री’
बिर्तामोड । झापामा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । कात्तिक १४ गतेदेखि शुरु भएको नमुना युवा संसद अभ्यास कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
संघीय संसद सचिवालयद्वारा आयोजित सो कार्यक्रमलाई सहारा नेपाल र संसद सहयोग परियोजना संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले सहयोग गरेका थिए ।
बिर्तामोडको होटल सिद्धार्थ ग्राण्डसिटीमा आयोजित नमुना युवा संसदमा शनिश्चरे माविमा अध्ययनरत १७ बर्षीया जुनु पौडेल प्रधानमन्त्री बनेकी थिइन् । उनले संसदहरुले विशेष समय र शुन्य समयमा राखेका विभिन्न प्रश्नहरुको जवाफ दिएकी थिइन् ।
त्यस्तै कंचनजंघा अंग्रेजी मावि बिर्तामोडका किरण सिटौला विपक्षी दलका नेता बनेकी थिइन् । उनले सरकारलाई विभिन्न प्रश्नहरु राखेकी थिइन् ।
कार्यक्रममा वास्तविक संसदको झल्को दिने गरी सभामुख, विभिन्न मन्त्रालयका मन्त्रीहरु, सत्ता पक्ष र प्रतिपक्षको अलग अलग स्थान, मर्यादापालक, रोष्ट्रम आदिको व्यवस्था गरिएको थियो ।
संसदमा हुने कार्यलाई आम मानिससम्म पुर्याउने कार्यक्रमलाई राजनीतिक दृष्टिकोणले अग्रस्थान ओगटेको झापामा आयोजित गरेको संसद सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए । सचिवालयका महासचिव मदनराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे, अतिथीहरु उपसभामुख इन्दिरा राना मगर, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरु, सांसदहरुको उपस्थिती रहेको थियो ।
तस्बिरहरु


