अन्तर्राष्ट्रिय झापाली समाजको नेतृत्व चयन, अध्यक्षमा मुकुन्द ढुंगाना
बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजको नयाँ नेतृत्व चयन भएको छ । अमेरिकामा बस्दै आएका मुकुन्द ढुंगानाको नेतृत्वमा समाजको नयाँ समिति सर्वसम्मत चयन भएको हो ।
कात्तिक ११ र १२ गते बिर्तामोडको सिटी सेन्टरमा सम्पन्न समाजको चौथो अधिवेशनबाट महेन्द्र चम्लागाई वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् । भुपाल सिटौला र चुडामणी कार्की उपाध्यक्ष तथा महिला उपाध्यक्षमा शर्मिला बस्नेत चयन भएका छन् ।
वर्तमान समितिका महासचिव नगेन्द्रप्रसाद (नविन) पोखरेल पुनः महासचिव चयन भएका छन् भने रविन गिरी सचिव पदका लागि चयन भएका छन् ।
उमेश पोखरेल ओशनियाको क्षेत्रीय संयोजक चयन भएका छन् भने सह संयोजकमा निरञ्जन प्रसाई चयन भएका छन् ।
मध्यपूर्वको संयोजकमा राजेन्द्र थापा र सहसंयोजकमा भवानी कोइराला चयन भएका छन् । त्यस्तै एशिया प्यासिफिकको क्षेत्रीय संयोजकमा मेघराज नेपाल र अमेरिका संयोजकमा प्रसन्न संग्रौला चयन भएका छन् । सदस्यद्वय देविबहादुर कार्की र उत्तम गुरुङ चयन भएका छन् भने कार्य समितिले बाँकि सदस्य पूर्ती गर्ने जनाइएको छ ।
निवर्तमान अध्यक्ष दिपकप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न महाधिवेशनको प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रहेका थिए ।
कार्यक्रममा बुद्धशान्तिस्थित शान्तिनगर स्वास्थ्य चौकी र गौरीगञ्जको महाभारा स्वास्थ्य चौकीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरिएको थियो । अन्तर्राष्ट्रिय झापाली समाजले पालिकासँगको सहकार्यमा समान लगानी हुने गरी एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ । यसअघि कचनकवल, शरणामती र कुमरखोदमा एक एकवटा एम्बुलेन्स हस्तान्तरण गरिएको महासचिव नविन पोखरेलले जानकारी दिए ।
झापाको विकासका लागि विभिन्न सामाजिक क्षेत्रमा समाजले सहयोग गर्दै आएको छ ।
ओम नर्सिङ होमका अध्यक्षसमेत रहेका झापा विकास संस्थाका अध्यक्ष डा. आनन्द श्रेष्ठ, राप्रपा झापाका सचिव कुमार थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, एमाले झापा अध्यक्ष दिपक कार्कीलगायत राजनीतिक दलका प्रतिनिधीहरु, पालिका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।