ओएचआरसीद्वारा अमेरिकामा कूर्म पुराणको आयोजना
अमेरिका । हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठन (ओएचआरसी)ले ५ दिने कूर्म पुराणको आयोजना गरेको छ । ५६५० ल्याङकास्टर स्ट्रिट ह्यरिसबर्गमा रहेको सोही संस्थाको मन्दिर श्री लक्ष्मीनारायण हरिहर धाममा अक्टोबर १८ बाट शुरु भएको पुराण २२ तारिकका दिन समापन हुने छ ।
कूर्म पुराण अमेरिकाकै इतिहासमा पहिलो भएको आयोजकले जनाएका छन् । पुराणमा भुटानी तथा नेपाली समुदायका विदुषीहरूले कथा प्रवचन, पाठ पारायण तथा महिलाहरुले नै भजन कीर्तनसमेत गर्ने सीएम निरौलाले जानकारी दिए ।
विदुषी देवीका खनाल, डा. लक्ष्मी नेपाल र विदुषी फाल्गुना पोखरेलका मुखारबिन्दबाट प्रवचन हुने छ भने अन्य विदुषीहरूबाट पाठ पारायण र हरिमाया अधिकारीबाट भजन कीर्तन हुने उनले बताए ।
अक्टोबर १८ का बिहान ९ बजे कलश यात्रामा करिब पाँच सय भक्तजनको उपस्थिति रहेको थियो भने पेन्सीलभेनियका गभर्नरको प्रतिनिधित्व गर्दै सेसिन, भुटनिज कम्युनिटीका अध्यक्ष तिलक निरौला, श्री वैष्णव परिषद् ह्यसरिसबर्गका अध्यक्ष टिका ढुङ्गाना लगायतले आतिथ्य गरेको कार्यक्रममा निरौलाले सबै हिन्दुहरूलाई अक्टोबर र नोभेम्बरलाई यस राज्यका गभर्नर जोस सेफारोले हिन्दु महिना घोषणा गरेको जानकारी गराउँदै सम्पूर्ण हिन्दुहरूलाई विजया दशमी तथा शुभ दीपावलीको शुभकामना दिएका थिए ।
रेसिनले गभर्नरको शुभकामना सन्देश वाचन गरेका थिए । उनले यसरी हिन्दुहरूले आयोजना गरेको कार्यक्रममा सरिक हुन पाउँदा खुसी व्यक्त गर्दै गभर्नरले जुनसुकै धर्मको भए पनि यस राज्य उनीहरूको समेत घर रहेको सन्देश प्रवाह गरे ।
संस्थाका अध्यक्ष प्रेम खनालले शुभकामना सन्देशका साथ सबै श्रद्धालु भक्तजनहरूलाई उपस्थितिका निम्ति आह्वान गरेका थिए । संस्थाकी उपाध्यक्ष बसुदा रिजाल र कार्य समिति सदस्य ठाकुर घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए भने नारद अधिकारीले यस पर्वका बारेमा आफ्ना भनाई राखेका थिए ।