बिर्तामोडबाट पाँचथर हिडेको ट्याक्सी दुर्घटना, दुईको अवस्था गम्भीर
बिर्तामोड । बिर्तामोडदेखि पाँचथरको ओयाम हिडेको ट्याक्सी पाँचथरको हिलिङ्मा दुर्घटना भएको छ । बुधबार दिउँसो ३ बजेतिर हिलिहाङको टाहारीमा को १ ज ५१३३ नम्बरको ट्याक्सी दुर्घटनाहुँदा ८ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा याङवरक–३ की ३९ वर्षीया जुनिता लावती, २३ वर्षीया भिमा नुगो, १६ वर्षीय पृथीराज चौहान, २० वर्षीया सुजा लिम्बू, १८ वर्षीया प्रतिक्षा न्यौपाने, झापाको दमक–७ निवासी ४ वर्षीय दिपशन मैनाली र उनकी आमा ३० वर्षीय बिनिता मैनाली घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घाइतेमध्ये जुनिता लावती र पृथ्वीराज चौहानको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि झापा रेफर गरिएको पाँचथर अस्पतालले जनाएको छ । अन्य घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
ट्याक्सी अनियन्त्रित भएर सडकदेखि करिब २५ मिटर तल खड्कबहादुर राईको घरको छानामा खसेको थियो । घरमा मान्छे नभएकाले थप मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
ट्याक्सी चालक नरेन्द्र न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । न्यौपानेको पनि टाउकोमा चोट लागेको छ ।