इजरायलबाट फर्कन चाहनेलाई टिकट दुताबासले काटिदिने, शव ल्याउँदा लाग्ने खर्च इजरायलले व्यहोर्ने
बिर्तामोड । इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको लागि दुताबासले टिकट काटिदिने भएको छ । यस अघि चाटर्ड फ्लाइट मार्फत उद्धार गरेर स्वदेश फर्काउने सरकारले निर्णय गरेको थियो ।
सोही आधारमा शुक्रवार राति २५४ जना विद्यार्थीलाई चार्टर फ्लाइटबाट स्वदेश फर्काइएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ नेपाल एयरलाइन्सको विमानसहित इजरायल पुगेका थिए ।
तर, अब भने चाटर्ड फ्लाइट नै गरेर उद्धार गरिनेछैन । नेपाल फर्किन चाहनेहरूलाई नियमित व्यवसायीक फ्लाइट मार्फत फर्किने व्यवस्था मिलाइने सरकारले जनाएको छ । हवाई टिकट भने सरकारले व्यहोर्नेछ ।
हाल इजरायलमा ४ हजार ५०० भन्दा बढी नेपालीहरू छन् । उनीहरू अधिकांश केयर गिभरको रूपमा काम गर्दै आएका छन् । उनीहरूलाई धेरै जोखिम नरहेको दूतावासले जनाएको छ ।
उनीहरुले आउन चाहेको खण्डमा व्यवसायीक उडानको टिकट काटिदिने र सोही आधारमा आउन सक्ने दूतावासले जनाएको छ ।
नेपाल फर्किनको लागि हालसम्म नेपाल फर्किएका बाहेक २०० जना भन्दा बढीले अनलाइन आवेदन भरेका दूतावासले जनाएको छ । उनीहरुले घर फर्किन चाहेमा व्यावसायिक उडानमार्फत फर्किने व्यवस्था मिलाइएको हो ।
इजरायलमा मृत्यु भएकाको शव फर्काउँदा लाग्ने खर्च इजरायल सरकारले व्यहोर्ने
इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव इजरायल सरकारले नै पठाउने भएको छ । शव नेपाल पठाउन लाग्ने सम्पूर्ण खर्च इजरायल सरकारले नै व्यहोर्ने भएको हो । शव कहिले पठाउने भन्ने विषयमा भने यकिन हुन सकेको छैन् ।
‘१० जनाको शव नेपाल ल्याउन लाग्ने सबै खर्च इजरायल सरकारले नै व्यहोर्नेछ । सबै प्रकृया पुरा गरेर नेपाल पठाउने भन्ने कुरा छ । कति समयमा नेपाल पठाउँछन् भन्ने यकिन भएको छैन् । तर, इजरायल सरकारले नै पठाउनेछ’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
शव नेपाल सरकारले नै ल्याउने कि के गर्ने भन्ने थियो । तर, इजरायल सरकारले आफ्नै खर्चमा शव पठाउने भएको हो । गत शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । मृत्यु भएका उनीहरुको शव नेपाल ल्याउन ढिलाइ भइरहेको छ । इजरायलमा धेरैको मृत्यु भएकाले उनीहरुको पहिचानमा समस्या भएको भन्दै इजरायल सरकारले त्यो प्रकृया पुरा गरेपछि शव नेपाल पठाउने भएको हो ।