२०८३ बैशाख १९ गते , शनिबार

घोषको गोदाममा राजश्वको छापा

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २२ गते , सोमबार
घोषको गोदाममा राजश्वको छापा

भद्रपुर । चाडपर्व नजिकिएसँगै भन्सार छलेर लत्ताकपडालगायत सामाग्री भित्र्याउने क्रम बढेपछि राजश्व अनुसन्धान कार्यालयले व्यापारीको गोदाममा छापा मारेको छ । आइतबार राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भद्रपुरमा रहेको संजीव घोषको गोदाममा छापा मारेको हो ।

भद्रपुर बजारमा सनराइज बैंक भएको बिल्डिङमा रहेको घोषको गोदाममा छापा मारेर राजश्व अनुसन्धान कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख सुरेश आचार्यको नेतृत्वमा आएको टोलीले आइतबार करिब तीन बजे घोषको गोदाममा छापा मारेको थियो । घोषको उक्त गोदामबाट खरिद बिक्री खाता, काटिएको भ्याट बिल लगायतको कागज पत्र नियन्त्रणमा लिएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । छापा मारेर कागज पत्र राजश्वले लगेको ब्यवसायी घोषले स्वीकार गरे ।

खरिद बिक्री खाता, भ्याट बिल लगायतको कागजात नियन्त्रणमा लिएका छौँ,’ राजश्व कार्यालय प्रमुख आचार्यले भने, ‘अनुसन्धानपछि कारबाहीको कुरा हुन्छ, कागजात विभाग पठाउँछौँ । 

शनिबारमात्रै सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पको टोलीले बिर्तामोड३ स्थित आदर्श पेट्रोप पम्प छेउबाट को १ च ६४०० नम्बरको गाडी पक्राउ गरेको थियो ।

भन्सार छली गरेको सामाग्री बोकेको सूचनाका आधारमा गाडी पक्राउ गरेर राजश्व अनुुन्धान कार्यालय इटहरीमा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २ हेक्वा झापाका प्रमुख प्रहरी उपरीक्षक देवराज अर्यालले जानकारी दिए । गाडीमा नौ पोका कपडा रहेको उनले बताए ।

झापाको विभिन्न नाकाबाट भन्सार छलेर भित्र्याइएको लत्ता कपडा, पटका, चिनी लगायतका सामान काठमाण्डौसम्म पुग्ने गरेको छ । पछिल्लो समय झापाको बाहुनडाँगी, तिरिङ, काँकरभिट्टा, कचनकवल, घेराबारी, भद्रपुरलगायतका नाकाबाट भन्सार छलेर सामान ल्याउने क्रम बढेको छ । भद्रपुरका व्यापारीले भद्रपुर भन्सारबाटै सेटिङमा सामान ल्याउने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार तस्करीमा संलग्नहरुले भन्सारका कर्मचारी, प्रहरी, राजनीतिक दलका कार्यकर्तासँग सेटिङ मिलाएर सामान नेपाल छिराउने गरेका छन् ।  

सम्बन्धित समाचार