अनलाइन सट्टेबाजीमा संलग्न पिन्टुकुमार साह पक्राउ
बिर्तामोड । अनलाइन सट्टेबाजी -बेटिङ_ संलग्न दमक–१२ का ३० वर्षीय पिन्टुकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । बेटिङमार्फत २४ करोड रुपैयाँबराबरको कारोबार गरेको आरोपमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार साहलाई दमकबाटै पक्राउ गरेको हो ।
अनलाइन सट्टेबाजीमा संलग्न झापाका पिन्टुकुमार साह पक्राउ
कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले साहले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १ सय ३८ रुपैयाँको बेटिङ कारोबार गरेको दाबी गरे ।
साहले वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काई चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम ८८ जस्ता दर्जनभन्दा बढी वेबसाइटहरूमार्फत बेटिङ गर्न लगाएको र अवैध असुली गरेको प्रहरीले जनाएको छ ।
‘उनले अरूलाई बेटिङ गर्न लगाएको, सट्टेबाजीजस्ता अनलाइन खेल खेलाएको प्रमाणित हुन्छ,’ एसपी रेग्मीले भने, ‘ उनले सबै कारोबार नेपाल राष्ट्र बैंकको नियमविपरीत कारोबार गरेको पाइएको छ ।’ अभियुक्त साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाएको प्रहरीले जनाएको छ ।