‘रिगल’को कैद मिनाहाविरुद्ध माइतीघर मण्डलामा भारतीले सुरु गरिन् अनशन
काठमाण्डौ । योगराज ढकाल ‘रिगल’लाई कैद मिनाहा गरेर रिहा गरेको निर्णयविरुद्ध भारती मानन्धरले अनशन सुरु गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद मिनाहा गरेका थिए ।
रिगलले भारतीका श्रीमान् चेतन मानन्धरको हत्या गरेका थिए । माफी मिनाहाको निर्णय फिर्ता लिनुपर्ने माग राखेर भारतीले बुधवारबाट माइतीघर मण्डलामा अनशन सुरु गरेकी हुन् । राष्ट्रपतिको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट दर्ता गराएकी छन् ।
भारतीले सर्वोच्चमा दायर गरेको रिटको दर्ता नम्बर ०८०–डब्बुओ–०३०६ रहेको छ ।
व्यक्ति हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि जेलमै पुगेर नेता कार्यकर्ताले स्वागत गरेका छन्। कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापति समेत रहेका ढकाललाई कैद सजायको ५० प्रतिशत भुक्तान नहुँदै कांग्रेस नेताहरूको दबाबमा सरकारले आममाफी सिफारिस गरेको हो ।
दाङस्थित घोराही कारागारमा सजाय भुक्तान गरिरहेका ढकाललाई संविधान दिवस पारेर छुटाइयो ।
माफी पाएर छुटेका ढकाललाई स्वागत गर्न कारागारको गेटमै तरुण दलका कार्यकर्ताहरू गाडाकीको लावालस्कर र झन्डासहित पुगेका थिए ।
२०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय मानन्धरको हत्या गरेको अभियोगमा नेपालगन्जका चर्चित गुन्डा नाइके ‘रिगल’लाई सर्बस्वसहित जन्मकैदको फैसला भएको थियो ।
नेपालगन्ज–८ का मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा रिगललाई सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो। दोषी ठहर भएका अन्य १२ जनालाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय भएको थियो। ढकालका अरू सहयोगीहरू भने जेलमै छन्।