बिर्तामोड बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
बिर्तामोड । झापाको बिर्तामोडस्थित टेकबहादुर गिरी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्व नजिकिँदै जाँदा यात्रुहरुलाई हुने असहजता सम्बोधनका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वको समयमा यात्रुहरु सँग बढी भाडा लिने, सीट क्षमताभन्दा बढी यात्रु बोक्ने, एउटै सीट दुई जना यात्रुको नाममा बुक गर्ने जस्ता समस्या हुने गरेकाले यात्रु सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । यात्रुहरु बाट आउने त्यस्ता गुनासो सुनुवाई गर्ने र गल्ती गर्नेलाई कारबाही गर्न सहज होस भन्ने उद्धेश्यले सहायता कक्ष स्थापना गरिएको उनले बताए ।
चाडपर्वको समयमा ओभरलोड साथै सवारी साधन तीब्र गतिमा चलाउने कारण दुर्घटनासमेत हुने हुँदा त्यसको न्यूनीकरणका लागि पनि सहायता कक्ष आवश्यक हुने डीएसपी कार्कीले बताए ।
सहायता कक्षमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा एक जना महिला र एक जना पुरुष प्रहरी रहने छन् ।
इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका थिए । इप्रका प्रमुख कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी बिर्तामोड वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई र अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम रहेका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपाने, बिर्तामोड ५ का पूर्व वडाध्यक्ष राजेन्द्र लिङ्देनलगायत उपस्थित थिए ।