२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडका एक तिहाई सिसि क्यामेरा बिग्रिए, सुरक्षा व्यवस्थामा चुनौती

sajilo news
परिवेश मिडिया
२०८० आश्विन ११ गते , विहीबार
बिर्तामोडका एक तिहाई सिसि क्यामेरा बिग्रिए, सुरक्षा व्यवस्थामा चुनौती

बिर्तामोड । बिर्तामोडका विभिन्न स्थानमा जडान गरिएका सिसि क्यामेरा बिग्रिएर कामै नलाग्ने भएका छन् । करिब एक तिहाई सिसि क्यामेरा काम नलाग्ने भएपछि सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ ।
कनकाई नगरपालिकाको सुरुङ्गादेखि बुट्टाबारी, गरामनी, मातामन्दिर क्षेत्रभित्र ९३ वटा क्यामेरा जडान भएका छन् । ती मध्ये २७ वटा बिग्रिएर कामै नलाग्ने अवस्थामा पुगेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । बिर्तामोडको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै स्थानीय व्यवसायी तथा वडा कार्यालयको लगानीमा विभिन्न समितिमार्फत जडान गरिएका ती सिसि क्यामेरा मर्मत सम्भारमा कसैको ध्यान नजाँदा बेवारिसे बन्दै गएका छन् ।
अपराधिक गतिविधी तथा सवारी दुर्घटनाका घटना उक्त क्यामेराको सहयोगमा निगरानी गर्दै आएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । तर, ती क्यामेराले काम नगर्दा त्यस्ता घटनामा संलग्नहरुको पहिचान गर्न गाह्रो भइरहेको उनको भनाई छ ।
सिसि क्यामेरा मर्मतको दायित्व नगरपालिकाको नभएको बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले बताइन् । ‘नगरक्षेत्रभित्र अपराधिक घटनाहरु हुन्छन् भनेर राखेको मात्रै हो,’ उनले भनिन्, ‘यसो एक दुई लाख रुपैँया सपोर्ट गरेर हेरौँ है भन्ने कुरा चाँहि भएको छ त्यसको बजेट छुट्टै चाँहि छैन ।’
भद्रपुर रोडमा सिसि क्यामेरा जडान समितिका अध्यक्ष कुमार भट्टराईले क्यामेरा जडान कै क्रममा सम्पूर्ण रकम सकिएको र त्यस समयमा नै सबै फरफारक गरिसकेको बताए । क्यामेरा मर्मतका लागि कुनै कोष नभएको उनको भनाई छ । क्यामेरा बिग्रिएको बारेमा आफुलाई कुनै जानकारी नआएको र इलाका प्रहरी कार्यालयले समन्वय गरे कतैबाट रकम जुटाएर आफुहरुले जडान गरेको क्षेत्रको क्यामेरा मर्मत गर्न सकिने उनले बताए ।
त्यस्ता अपराधिक गतिविधिलाई सहज अनुगमन गर्न बिर्तामोडको वडा नम्बर १,२,४,५,६ र ८ मा २१ वटा सिसि क्यामेरा थप आवश्यक भएको इप्रका अनारमनीका प्रमुख कार्कीले बताए । चाडबाड नजिकिँदै जाँदा सुरक्षा संवेदनशिलता बढ्ने भएकाले चाडबाड अगावै ती क्यामेराहरु मर्मत गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । सामान्य फाइबरमा समस्या हुँदा इलाकाको प्राविधिकले मर्मत गर्ने गरेको भएपनि उक्त २७ वटा क्यामेरामा नै समस्या आएकाले मर्मत गर्न नसकिएको डीएसपी कार्कीले बताए ।  

सम्बन्धित समाचार