झापाको ट्राफिक ब्यवस्थापनमा प्रभावकारी काम गर्छु, राम्रो गर्ने कर्मचारीलाई प्रोत्साहन गर्छु : कार्यालय प्रमुख न्यौपाने
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले झापाको ट्राफिक ब्यवस्थापनमा प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाएका छन ।
भाद्र ६ गतेदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुखको जिम्मेवारी सम्हालेका न्यौपानेले स्थानीय तह, सडक कार्यालय, यातायात ब्यवस्था कार्यालय र सरोकारवालाहरुसँग समन्वय गरेर काम गर्ने बताए । शुक्रबार बिहान संचारकर्मीहरुसँगको भेटमा न्यौपानेले ऐन नियमको परिधिमा रहेर सरोकारवालाहरुको सुझावको आधारमा ट्राफिक ब्यवस्थापनलाई प्रभावकारी बनाउन लागिपर्ने बताए । बढी दुर्घटना हुने क्षेत्रहरुमा सीसीटिभी जडान गर्न स्थानीय पालिकाहरुसँग समन्वय गर्नुका साथै समुदायमा सचेतना गराउने कार्यलाई थप प्रभावकारी बनाउने उनले बताए ।
चाडपर्व नजिकिएसँगै दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले न्यूनीकरणका लागि सबै उपाय अवलम्बन गर्ने उनको भनाई छ।
न्यौपानेले मातहतका ट्राफिक कर्मचारीहरुको युनिटगत कार्यसम्पादन शुरु गरिसकेको बताउँदै राम्रो गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने बताए ।
न्यौपाने केन्द्रीय अनुसन्धान विभागबाट आएका हुन ।