झापाका १८ सहित कोशीका १३८ जनाको कैद माफी मिनाहा
बिर्तामोड । सरकारले संविधान दिवसको अवसर पारेर असल चालचलन भएका र ४० प्रतिशत बढी कैद भुक्तान गरिसकेकाहरुको कैद माफी मिनाहा दिने गरेको छ । सोही अवसरमा आज झापाका १८ सहित कोशी प्रदेशबाट १३८ र देशभरबाट ६७० जनाले कैद माफी मिनाहा पाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी उनीहरुकोे कैद माफी मिनाहा गरेका हुन् ।
यस अघि तोकिएको सजायमा ५० प्रतिशत कैद भुक्तान गरिसकेकाहरुले कैद माफी मिनाहा पाउने गरेको भएपनि यो बर्ष ४० प्रतिशत भुक्तान गरेकाहरुको पनि सिफारिस माग भएको थियो ।
झापाबाट ३५ जनाको कैद माफी मिनाहाको लागि सिफारिस भएकोमा १८ जना पुरुषले कैद माफी मिनाहा पाएको कारागार कार्यालय चन्द्रगढीका प्रमुख मोहन पनेरुले जानकारी दिए । उनीहरु आजबाट जेलमुक्त हुँदैछन् ।
सरकारले तोकिएको सजायमा ४० प्रतिशत बढी सजाय भुक्तान गरिसकेका असल चालचलन भएका, ज्येष्ठ नागरिकलाई विशेष अवसरमा कैद माफी मिनाहा गर्ने गरेको छ । जबर्जस्ती करणी, लागूऔषध, ठगी आदि मुद्धाका कैदीले माफी मिनाहा पाउँदैनन् भने कर्तव्य ज्यान, सवारी ज्यान, चोरी, बहुविवाह आदि मुद्दाका कैदीलाई नियमानुसार माफी मिनाहा दिइने गरेको उनले बताए ।