तिम्ल्याहा बालबालिकाका अभिभावक सम्मानित
बिर्तामोड । मेचीनगरस्थित तिम्ल्याहा बालबालिकाका अभिभावक सम्मानित भएका छन् । सञ्जिवनी महिला विकास संस्थाले १४औं बार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिका हुर्काइरहेका अभिभावकलाई सम्मान गरेको हो ।
संस्थाले शुक्रवार धुलाबारीमा आयोजना गरेको कार्यक्रममा तिम्ल्याहा बालबालिकाका अभिभावक निर्मला विष्ट रिजाल र उनका श्रीमान सुरेन्द्र रिजाललाई सम्मान गरेको हो । निर्मलाले तीन बर्ष अघि बिर्तामोडस्थित मनमोहन अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्मदिएकी थिइन् ।
उनीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरेको संस्थाकी अध्यक्ष रेणुका डाँगीले बताइन् । चौध बर्ष अघि महिलाहरुको सशक्तीकरण गर्ने उद्देश्यले स्थापना भएको संस्थाले ४० बढी महिलालाई सीप सिकाएर आत्मनिभर्र बनाएको उनले जानकारी दिइन् ।
संस्थाले विभिन्न संघसंस्थासँगको सहकार्यमा गरीब, असहाय तथा विपन्न परिवारलाई सुधारिएको चुल्हो, लत्ताकपडा, खाद्यान्न, घर छाउनका लागि जस्तापातालगायतका सामाग्रीसमेत वितरण गरिएको अध्यक्ष डाँगीले प्रस्तुत गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई खादा र मालाको सट्टा स्थानीय महिलाले उत्पादन गरेका क्रिष्टलका माला लगाइएको थियो । संस्थाले महिलाहरुलाई स्वरोजगार बनाउनका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिएको उनले बताइन् ।
कार्यक्रममा प्रमुख अतिथी मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले नगर क्षेत्रका महिलालाई स्वरोजगार बनाउन पालिकाद्वारा नै सीप सिकाउने तयारी भइरहेको बताइन् । महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको पालिकाले नै बजारीकरण गर्ने योजना रहेको सुनाइन् ।
कार्यक्रममा नारी कल्याणकारी संस्थाकी अध्यक्ष जानुका ओली, तारापुञ्ज छोरी बुहारी समूहकी अध्यक्ष सीता पोखरेल, विपन्न जनहितकोषको कोषाध्यक्ष लिना भण्डारी, इन्द्रेणी साहित्य मञ्चकी अध्यक्ष मीरा पोखरेल, उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला भण्डारी, पत्रकार अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाकी सचिव निर्मला काफ्लेले स्वागत गरेको कार्यक्रम उपाध्यक्ष खिला खनालले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा तीज गीतमा महिलाहरुले सामूहिक रुपमा छमछमी नाचेर दर समेत खाएका थिए ।