२०८३ बैशाख १९ गते , शनिबार

भूकम्पपछि बन्द तातोपानी नाका आजदेखि खुल्ने

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १५ गते , शुक्रबार
भूकम्पपछि बन्द तातोपानी नाका आजदेखि खुल्ने

काठमाण्डौ । चीनसँगको उत्तरी नाका तातोपानी नाका आजदेखि खुल्ने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो ।

२०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो ।

शुक्रबार (आज)देखि सो नाका सञ्चालनमा ल्याउन समझदारी भएको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए । समझदारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ने छ ।

तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीस्थित अध्यगमन कार्यालयले पास वितरण सुरु गरेको छ । अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरुले शुक्रबारदेखि चीनतर्फ प्रवेश पाउने कार्यालयले जनाएको छ ।

तातोपानी भन्सार कार्यालयका अनुसार चीनतर्फ प्रवेशका लागि शुक्रबारदेखि नाका खुलाको तयारी सकिएको छ । अहिले खासा बजारसम्म पनि जान नदिने भन्ने छ । चिनियाँ बजारसम्म पुग्नेगरी पास जारी भइरहेको छ,’ भन्सार प्रमुख दयानन्द केसीले भने, ‘२०७२ सालको भूकम्पछि पहिलो पटक मानव आवतजावतका लागि यो नाका खुला हुँदैछ ।

भोटेकोशी गाउँपालिका२ का वडाध्यक्ष कुमार श्रेष्ठले पनि मानव आवतजावतका लागि ८ वर्ष पछि नाका खुला हुन लागेको बताए । कोभिड१९ पछि श्रमिकहरु सामान लोड गर्न गएका थिए, त्यो एकतर्फी थियोवडाध्यक्ष श्रेष्ठले भने, ‘तर, शुक्रबारदेखि अनुमति नै जारी गरेर मानव आवतजावत खुल्ला हुँदैछ ।

२०७२ सालको महाभूकम्प पछि तातोपानी नाका पूर्ण रुपमा बन्द भएको थियो । दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो । तर, कोरोनाभाइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो ।

कोभिड१९ पछि नाका खुल्ने र बन्द हुने पटकपटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन ।

सम्बन्धित समाचार