मेरो हस्ताक्षर दुरुपयोग गरियो : महासचिव मैनाली
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले बिर्तामोड नगरपालिकाले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको बताएका छन् । व्यवसायीमाथि नगरपालिकाले गरेको कर वृद्धिको बिषयमा सञ्चारकर्मीसँग कुरा गर्दै मैनालीले आफ्नो हस्ताक्षर पालिकाले दुरुपयोग गरेको बताएका हुन ।
राजश्व परामर्श समितिमा बिर्तामोड उद्योग वाणिज्य संघपनि रहेको र संघको तर्फबाट आफुले प्रतिनिधित्व गरेको जनाउँदै मैनालीले माइन्युटमा हस्ताक्षर गराएर पालिकाले आफुखुशी करवृद्धिको निर्णय गरेको आरोप लगाएका छन् । ‘राजश्व परामर्श समितिको बैठकको उपस्थितीमा हस्ताक्षर गराइयो,’ उनले भने, ‘निर्णय चाँहि पालिकाले आफुखुशी कम्प्युटर गरेर टाँसेको पाइयो ।’ जहिलेपनि माइन्युटमा हस्तलिपी वा कम्प्युटर जे भएपनि एकै लिपी हुनुपर्ने उनले बताए । निर्णयको अन्तिममा भने राजश्व परामर्श समितिका संयोजक नगर उपप्रमुखले प्रमाणित गरेको उनले जानकारी दिए । ‘वैधानिक बाटोबाट अवैधानिक काम गर्ने श्रृङ्खलाको पराकाष्ठ हो,’ मैनालीले भने ।
पालिकाले आवश्यकता महशुस भएर निर्णय परिवर्तन गरेको मैनालीले जानकारी दिए । आफु सहभागी कुनैपनि बैठकमा करवृद्धिको बिषयमा सहमति नजनाएको उनको भनाइ छ ।