विभत्स हत्या गरी फ्याँकिएका सुन्दरलाल घटनाको यस्तो छ भित्री रहस्य
बिर्तामोड । मेचीनगर–६, मुनियाँटोल निवासी ३५ बर्षीय सुन्दरलाल किसानलाई योजनाबद्ध तरिकाले हत्या गरिएको रहस्य खुलेको छ । हत्यामा संलग्नहरुको बयानका आधारमा सुन्दरलाललाई सोहि स्थानका ५६ बर्षीय रामजी किसान र ४८ बर्षीय सुनरसी किसानले योजनाका साथ हत्या गरेको खुलेको हो ।
साउन ३१ गते साँझ खाना खाएर निस्किएका सुन्दरलाललाई सोहि ठाउँको होलीपैनी कल्भर्ट छेउमा रामजी र सुनरसीले घरेलु हतियार प्रयोग गरी हत्या गरेका थिए ।
सुन्दरलाल हत्याको यस्तो छ भित्री रहस्य
सुन्दरलाल, रामजी र सुनरसीका हजुरबुवाहरु दुई जना थिए । उनीहरु झड्केलो सन्तानको रुपमा दाजुभाई हुन् । सुन्दरलालले आफ्नो बाबुका कारण रामजी र सुनरसीले नागरिकता पाएको, तिमीहरु सुकुम्बासी हौ भन्दै पटक पटक होच्याउने गरेका कारण सुनरसी र रामजी चिढिएका थिए । सुन्दरलालको अभिव्यक्तिले उनीहरुको मनमा गहिरो नकारात्मक छाप परेको थियो । सुन्दरलालले उनीहरुले बोक्सी लगाएका कारण आफ्नो गाई वस्तु मरेको भन्ने, बाटोमा अक्षता छर्केर आफ्नो नराम्रो गरेको भन्ने जस्ता अभिव्यक्ति दिँदै पटक पटक आरोप लगाउने गरेका कारण सुन्दरलाललाई हत्या गर्ने योजना बनाएको पाइएको छ ।
यस्तो छ घटना विवरण
साउन ३२ गते बिहान बिहान ६ बजे स्थानीयले मर्निङवाक गर्ने क्रममा सडक छेउमा रगतका छिटाहरु देखेपछि कुनै घटना घटेको आशंकामा प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पश्चात इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायब उपरीक्षकको टोली घटनास्थलमा गएर अनुसन्धान गर्ने क्रममा एक जोर चप्पल र बांगिएको फलामको खन्ती फेला पारेको थियो ।
अघिल्लै साँझ घरबाट हिडेर सुन्दरलाल नफर्किएको सुचना पाएको प्रहरीले सुन्दरलालकी श्रीमतीलाई घटनास्थलमा फेला परेको चप्पल देखाउँदा सुन्दरलालकै भएको भनि सनाखत गरेपछि प्रहरीले घटनाको थप अनुसन्धानलाई अगाडी बढाएको थियो ।
प्रहरीले घटनास्थलमा रहेको धानबारीमा मानिसलाई घाइते बनाई घिसारेको जस्तो देखिने नाली देखेपछि उक्त नाली पछ्याउँदै जाँदा सुन्दरलालको शब घटनास्थलबाट करिब छ यस मिटर दक्षिणमा होलीपैनीमा पुरेको अवस्थामा फेला पारेको थियो ।
घटनास्थलमा फेला परेको रडका आधारमा प्रहरी हत्यारासम्म पुग्न सफल भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
सुन्दरलालको हत्या गरी शव व्यवस्थापनका लागि झाडीमा झारपातले छोपेर हिडेका थिए । घटनापश्चात डराएका उनीहरुमध्ये एक जना भारततिर भागेका थिए भने अर्को एक जना लुकिछिपी बसेका थिए ।
घटनापश्चात प्रदेश प्रहरीको अनुसन्धान टोली, जिल्ला प्रहरी कार्यालय झापा र इप्रका काकरभिट्टाको संयुक्त टोलीले कुकुरको समेत सहायतामा अनुसन्धानलाई अगाडी बढाएको थियो ।
घटना भएको भोलीपल्ट प्रहरीले अनुसन्धानका लागि करिब आधा दर्जन मानिससँग सोधपुछ गरेको थियो । सोधपुछबाट रामजी र सुनरसीको संलग्नता खुलेपछि प्रहरीले भारत तर्फ भागेकालाई समेत आफन्तमार्फत नेपाल बोलाएर पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुले आफुहरु कल्भर्टमा बसिरहेको बेला गत बुधबार साँझ ८ बजे सुन्दरलाल मादक पदार्थ सेवन गरेर आफुहरुको सामु आएको र गाली गलौज शुरु गरेपछि झगडा भएको र सुन्दरलालको मृत्यु भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । झगडाको क्रममा सुन्दरलाललाई उनीहरुले रड र सिक्कलले शरिरको विभिन्न स्थानमा प्रहार गरी विभत्स हत्या गरेका थिए ।
सुन्दरलालको अभिव्यक्तिका कारण लामो समयदेखि आक्रोशित उनीहरु सुन्दरलाललाई मौका परेको समयमा हत्या गर्ने मनसायका साथ बसेको र सो दिन योजनाबद्ध तरिकाले हत्या गरेको देखिन आएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाईको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।