तारा नमस्तेका २३ जना बालबालिकालाई झापाका महिला उद्यमीले खुवाए समूहमा खीर
बिर्तामोड । आज साउन १५ अर्थात खीर खाने दिन । नेपाली परम्परा र संस्कार अनुसार आजको दिनलाई खीर पर्वको रूपमा मनाइएको छ ।
अधिकांशले नेपालीले आज घरघरमा खीर खाएर यो दिनलाई स्मरणीय बनाए र खाइयो । यो व्यक्तिगत कुरा रह्यो र हो । तर, कतिपय संघसंस्थाले आज सामुहिक रूपमा खीर खाएर र खुवाएर यो दिनलाई विशेष बनाए ।
झापामा महिला उद्यमी संघ नेपाल झापाले २३ जना अनाथ बालबालिकालाई खीर खुवाएर यो दिन सम्झन लायक बनाएको छ । संघले बिर्तामोड नगरपालिका–४ मा रहेको तारा नमस्ते बालग्राममा आश्रीत नानीबाबुहरूलाई खीर खुवाएको संघकी कार्य समिति सदस्य कल्पना कडरियाले बताइन् ।
उनका अनुसार त्यहाँ रहेका बालबालिकालाई सामुहिक खीर खुवाएर खीर पर्व मनाइएको हो । सो बालग्राममा १२ जना बालक र ११ जना बालिका आश्रीत छन् ।
बुबाआमा नभएका, बेवारिसे अवस्थामा छाडिएका तथा अन्य विभिन्न कारणले सहाराविहीन बनेका अनाथलाई बालग्रामले सहारा दिइरहेको छ ।
संघले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उनीहरूलाई खीर खुवाएर साउन १५ लाई विशेष दिनका रूपमा मनाएको कडरियाको भनाइ छ । खीर खुवाउने कार्यक्रम संघकी कार्यबाहक अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा संघ आबद्ध महिला उद्यमीको बाक्लो उपस्थिति थियोे ।