नागरिक उन्मुक्ति पार्टी (एकिकृत)द्वारा बिर्तामोडमा प्रदर्शन

बिर्तामोड । नागरिक उन्मुक्ति पार्टी (एकिकृत)ले झापाको बिर्तामोडमा प्रदर्शन गरेको छ । पार्टीले विभिन्न माग राखी शुक्रबार बिर्तामोडको मुक्ति चोकमा प्रदर्शन गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा पूर्व सांसद रेशमलाल चौधरीको जन्म कैद सर्वोच्च अदालतले सदर गरेसँगै पार्टी आन्दोलित बनेको हो । २०७२ सालमा कैलालीको टिकापुरमा एक नाबालकसहित ८ जनाको ज्यान जाने गरी भएको आन्दोलनको नेतृत्व गरेको भन्दै अदालतले चौधरीलाई दोषी ठहर गरेको छ ।
प्रदर्शनमा सहभागीहरुले ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर, निर्दोष ठहर भएका थारु नेताहरुलाई क्षतिपूर्ति दे, पार्टीका युवा नेता पूर्ण सुहाङलाई तुरुन्त रिहाई गर’ लगायत नारा लेखिएको प्ले कार्ड बोकेका थिए । उनीहरुले कोशी नामाकरणको बिरुद्धमा समेत नाराबाजी गरेका थिए । कोशी नाम तत्काल खारेज गर्नु पर्ने उनीहरुको माग थियो । कार्यक्रमा पार्टीका केन्द्रिय सचिव भविराज तुम्सालगायत उपस्थित थिए ।
सहभागीहरुलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा कोशी नाम खारेजी संघर्ष समितिका संयोजक धनबहादुर पङ्धाकले टीकापुरको प्रदर्शनमा सहभागी नै नभएका रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले समेत दोषी ठहर गरेको भन्दै विरोध जनाए । ‘पहिचानको मुद्धा बलियो बन्दै गएको बेला चौधरीलाई दोषी ठहर गर्नु पहिचानको आन्दोलनलाई कमजोर बनाउनु हो,’ उनले भने । पङ्धाकले लामो समय जेल बसेर निर्दोष सावित भएकाहरुलाई क्षतिपूर्ति दिन सरकार समक्ष आग्रह गरे ।
पहिचानको पक्षमा आफूहरुले शान्तिपूर्ण आन्दोलनको कार्यक्रम गरिरहेको भन्दै उनले सबैले सहयोग गरिदिन अनुरोध गरे । उनले आन्दोलनलाई कमजोर ठानिए कठोर आन्दोलन गर्न तयार रहेको भन्दै चेतावनीसमेत दिए ।
पार्टीका उपाध्यक्ष अशोक चेम्जोङले राज्यले भ्रष्टाचारी, बलत्कारीलगायत अपराध गर्नेहरुलाई कारबाही नगरेको भन्दै आक्रोश पोखे । आफूहरु पहिचानको सार्थक आन्दोलनको चरणमा प्रवेश गरेको बताए ।
पार्टीका महासचिव दिलकुमार लावतीले सञ्चालन गरेको कार्यक्रममा केन्द्रिय सदस्य दिनेशचन्द्र राजवंशीलगायतले बोलेका थिए । अधिकांश वक्ताले पूर्णहाङ सुहाङलाई तत्काल रिहाई गर्न माग गरे ।