सरकारको समर्थनमा झापामा ‘उज्यालो पदयात्रा’

बिर्तामोड । सरकार सुशासन कायम गराउनेतर्फ अग्रसर हुँदै गएको भन्दै झापामा ‘उज्यालो पदयात्रा’ सम्पन्न गरिएको छ । भ्रष्टाचारीलाई कारबाही गरी मुलुकलाई समृद्धि र सुशासन तर्फ अघि बढाएको भन्दै विभिन्न जनबर्गीय संगठनहरुले सरकारको समर्थनमा वुधबार झापाका विभिन्न शहरमा उज्यालो पदयात्रा आयोजना गरेका हुन् ।
सरकारको प्रशंसासँगै खबरदारीका लागि कार्यक्रम आयोजना गरिएको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले जानकारी दिए । उनका अनुसार सरकार समृद्धिको उज्यालो यात्रा तर्फ अघि बढेकाले सम्मान र समर्थन स्वरुप उज्यालो पदयात्रा आयोजना गरिएको हो ।
झापाको धुलाबारी, भद्रपुर, शिवसताक्षी र दमकमा सहभागीहरुले मोबाइल र टर्च लाइट बालेर सरकारको समर्थनमा विभिन्न नारा लगाएका थिए । भ्रष्टाचारीलाई कारबाही गर्न सरकार निर्मम भएर लागेको भन्दै चौतर्फी प्रशंसा भइरहेको बेला नेकपा माओवादी केन्द्रका विभिन्न जनवर्गीय संगठनको आयोजनामा कार्यक्रम भएको हो । ‘सामाजिक न्यायसहितको समृद्धि र सुशासनको लागि भ्रष्टाचार बिरुद्ध ऐक्यबद्धता र खबरदारी हाम्रो जिम्मेवारी’ लेखिएको व्यानर सहभागिहरुले बोकेका थिए । उनीहरुले ‘संगठित अपराध राष्ट्रघात हो, भ्रष्टाचार जनघात हो’, ‘अघि बढ प्रचण्ड जनता तिम्रो साथमा छ’ जस्ता नारा लगाएका थिए ।
दमक चोकबाट शुरु भएको पदयात्रा जेसिस चोक, इलाका प्रहरी चौकी, बसपार्क, लोकमार्ग हुँदै पुनः चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई माओवादी केन्द्रका दमक नगर अध्यक्ष रवि बस्नेत, वाइसिएलका केन्द्रीय सचिव डम्बर पुलामीलगायतले मन्तव्य राखेका थिए भने समापन अखिल क्रान्तिकारीका जिल्ला सचिव राजन चापागाईले गरेका थिए । कार्यक्रम पार्टी नगर कार्यालय सचिव डम्बर बोहोराले गरेका थिए ।
यता भद्रपुरमा भएको कार्यक्रम बसपार्कबाट शुरु भएर भद्रपुर बजार हुँदै पुरानो नगरपालिका पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा विद्यार्थी नेता सन्देश विश्वकर्मा, नेकपा माओवादी केन्द्रका सदस्य पुकारचन्द्र राजवंशीलगायतले सम्बोधन गरेका थिए । शिखर पौडेलले सञ्चालन गरेका थिए । सहभागीहरुले विभिन्न नारा लगाएका थिए ।
धुलाबारीमा भएको कार्यक्रममा क्षेत्रीय अध्यक्ष माधव अर्यालले सबै पार्टी विचारभन्दा माथि उठेर भ्रष्टाचार विरुद्ध एकजुट हुन आग्रह गरे ।
सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नाराका साथ काम गरिरहेको छ । भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा कमाउन नहुने भन्दै विभिन्न संघसंस्था लगायत राजनीतिक दलहरुले सरकारको खबरदारी गरिरहेका छन् ।