डम्बर गिरीलाई मतदान गर्न भिम रावलको आह्वान
बिर्तामोड । नेकपा एमालेका नेता भीम रावलले झापा क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारी दिएका डम्बरबहादुर गिरीलाई मतदान गर्न पार्टीका कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
राजधानीको एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै एमाले नेता रावलले विपरित सिद्धान्त भएको प्रतिक्रियावादी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सदासर्वदा जिताउन एमालेले त्याग गर्न नसक्ने बताए । यसअघिको २०७४ सालको आमनिर्वाचनमा आफू उपाध्यक्ष भएका बेला अध्यक्ष केपी ओलीले पार्टीमा कुनै छलफल नै नगरी आफ्नो जित सुनिश्चित गर्नका लागि राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाएको उनले बताए ।
‘२०७४ को निर्वाचनमा झापा ३ मा राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाएको रहेछ ,’ उनले भने,‘म अछाम गएको थिएँ । पछि थाहा पाएँ । आफ्नो जित सुनिश्चित गर्नका लागि केपी ओलीले उम्मेदवार बनाएका रहेछन् । म आश्चर्यचकित भएँ ।’ किन राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाउनुपर्ने प्रश्न गर्दै असन्तुष्ट नेता रावलले पाँच वर्षसम्मको एमालेको संगठन, कार्यकर्ताको मेहेनत खेर फालेको टिप्पणी गरे । अब फेरि पनि सिद्धान्त नमिल्ने प्रतिक्रियावादी राप्रपाका लागि एमालेले आफ्नो झन्डा लुकाउन नहुने भन्दै रावलले डम्बर गिरीले लिङ्देनविरुद्ध दिएको बागी उम्मेदवारी उचित भएको प्रतिक्रिया दिए ।
सुखानी सहादत प्राप्त झापामा स्वाधिनता र स्वतन्त्रताका लागि शहीदहरुले दिएको बलिदानीलाई स्मरण गर्दै रावलले दशकौंदेखिको कार्यकर्ताहरुको संगठन निर्माणको मेहनतलाई खेर नफाली विवेकपूर्ण ढंगले आगामी निर्वाचनमा मतदान गर्न आह्वान गरेका छन् ।