२०८१ बैशाख २१ गते , शुक्रबार

झापामा एमाले-राप्रपा गठबन्धन, ओलीलाई अझै सकस

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन २१ गते , शुक्रबार
झापामा एमाले-राप्रपा गठबन्धन, ओलीलाई अझै सकस

बिर्तामोड । झापामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच गठबन्धन हुने भएको छ । झापाको क्षेत्र नम्बर ३ र ५ संघीय निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्रमा गठबन्धन हुने भएको हो ।  गठबन्धनको कटु आलोचक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्ततः आफ्नो निर्वाचन क्षेत्र झापा ५ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा ३ मा गठबन्धन गर्ने भएका हुन । यस अघि पनि ओली र लिङ्देनले ती दुई क्षेत्रमा गठबन्धन गरेर जितेका थिए ।
गठबन्धन गर्नु ओली-लिङ्देनको बाध्यता
नेता द्वयले आफ्नो सिट सुरक्षित गर्न गठबन्धन गर्नु बाध्यता भएको जानकारहरु बताउँछन । झापा ३ मा गठबन्धन नगर्दा राप्रपालाई जित्न कठिन छ । सो क्षेत्र नेपाली कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको क्षेत्र हो । सो क्षेत्रमा कांग्रेसको बलियो पकड रहेको छ । पाँच दलीय गठबन्धनको उम्मेदवार सामू लिङ्देन एक्लैले जित्न असम्भव छ ।
त्यस्तै झापा ५ मा पनि एमाले एक्लैले जित्ने सम्भावना नै छैन  भने गठबन्धन गर्दापनि ओलीलाई जित्न मुस्किल छ । गठबन्धनका तर्फबाट झापा ५ मा नेकपा माओवादी केन्द्रका यूवा नेता रन्जित तामाङ उठ्ने पक्कापक्की छ । स्थानीय निर्वाचनमा माओवादी केन्द्रको भागमा परेको दमक नगर अध्यक्ष राप्रपालाई दिएर गठबन्धनले राप्रपाका राम थापालाई जिताएकाले राप्रपाले त्यो गुन बिर्सन नसक्ने बताइएको छ । सो क्षेत्रमा राप्रपाले एमालेसँग गठबन्धन गरेपनि राप्रपाले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई भोट हाल्ने सम्भावना छ । 
एमालेले क्षेत्र नम्बर १ मा पाटी स्थायी कमिटी सदस्य अग्नि खरेललाई अघि सार्ने निर्णय गरेको बताइएको छ । उक्त क्षेत्रबाट संघीय सांसदका लागि सर्वसम्मत सिफारिसमा परेका केन्द्रीय सदस्य रविन कोइरालालाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाइने एमाले स्रोतले बताएको छ।
क्षेत्र नम्बर २ मा स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरे उम्मेदवार बन्नेछन्।
क्षेत्र नम्बर ३ भने एमालेले राप्रपालाई छाडेको छ। उक्त क्षेत्रबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार बन्ने छन् ।
त्यस्तै क्षेत्र नम्बर ४ मा लालप्रसाद (एलपी) सावाँ लिम्बूले पुनः उम्मेदवारी पाएका छन्।
प्रदेशसभातर्फ क्षेत्र १ को ‘ख’ राप्रपाले पाएको छ। त्यस क्षेत्रमा सविना बजगाईं वा कल्याण खड्कामध्ये एक जना उम्मेदवार बन्नेछन्।
क्षेत्र १ को ‘क’ मा एमाले केन्द्रीय सदस्य कोइरालालाई उम्मेदवार बनाउने तयारी छ।
क्षेत्र २ को ‘क’ बाट निवर्तमान सांसद एकराज कार्की नै उम्मेदवार बन्नेछन् भने ‘ख’ बाट पार्टीका प्रदेश सचिव चिन्तन पाठक उम्मेदवार बन्ने भएका छन्।
निर्वाचन क्षेत्र ३ ‘ख’ मा एमाले केन्द्रीय सदस्य हरि राजवंशी र ‘क’ मा प्रदेश सदस्य एवं निवर्तमान सांसद बसन्त बानियाँ उम्मेदवार हुनेछन्। क्षेत्र ४ ‘क’ बाट एमालेका राधाकृष्ण खनाल उम्मेदवार बन्नेछन् भने ‘ख’ बाट राप्रपाले खुश्बु ओलीलाई उम्मेदवार बनाउने छ।
निर्वाचन क्षेत्र ५ को ‘क’ बाट पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व प्रदेशमन्त्री हिक्मत कार्की र ‘ख’ बाट पार्टीका प्रदेश सदस्य होमबहादुर थापा उम्मेदवार बन्ने निश्चित भएको एमाले स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार