बिर्तामोडमा साहित्य कला संस्कृति प्रतिष्ठान स्थापना

बिर्तामोड । झापाको बिर्तामोडमा साहित्य कला संस्कृति प्रतिष्ठान स्थापना भएको छ । प्रतिष्ठान साहित्यकार तथा कलाकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल, सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता भट्टराई, कोषाध्यक्षमा सीता कुँवर र सदस्यहरुमा लोकबहादुर सुवेदी र मुना प्रसाईं रहेका छन् । साहित्य कला संस्कृतिमा रुची राख्ने व्यक्तिहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले प्रतिष्ठानको स्थापना गरिएको अध्यक्ष ढुङ्गेलले बताइन् ।
प्रतिष्ठानले पहिलो कार्यक्रमको रुपमा दशैं, तिहार , छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा कृति विमोचन कार्यक्रम समेत गरेको छ । बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषको सभाहलमा आयोजित कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, समिक्षक तथा कवि डा. ठाकुरप्रसाद पोखरेल, साहित्यकारहरु शिवकुमार पौडेल, पुण्यप्रसाद खरेल, गोपाल संग्रौला, कुमार भट्टराई, एनवी दाहाल, हस्त परियार, हरि रिमाल, विनोद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उदीयमान कवि विजय संग्रौलाद्वारा लिखित अन्तिम विदाइ नामक कविता संग्रहको विमोचन समेत गरिएको थियो । उक्त कृतिको समिक्षा साहित्यकार तथा प्राध्यापक देवी संग्रौलाले गरेका थिए ।