लोकगायक एलपी जोशीलाई नारायण गोपाल पुरस्कार

दमक । लोकगायक एलपी जोशीलाई स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार प्रदान गरिएको छ । नेपाली लोक गीतसंगीतको क्षेत्रमा विशेष योगदान पुर्याएवापत जोशीलाई ताम्रपत्रसहित २५ हजार नगद राशिले सम्मान गरिएको हो ।
नारायण गोपालको स्मृति दिवस हरेक बर्ष १९ मसिंरमा पर्ने भए पनि कोरोना संक्रमणका कारण असोज १८ गते दमकमा एक कार्यक्रम गरी प्रदान गरिएको हो । सो पुरस्कार स्वर सम्राट नारायण गोपाल स्मृति कोषले २०५६ सालयता बर्षेनि प्रदान गर्दै आएको छ ।
शुरुका दिनमा पुरस्कारको राशि नगद १० हजार भए पनि हाल बढाएर नगद २५ हजार बनाइएको कोषका महासचिव काठमाडौं महानगरपालिका वडा नं ३ का वडाध्यक्ष दिपक केसीले जानकारी दिए ।
३०औं स्मृति दिवसको अवसरमा कोषले पहिलोपटक नारायण गोपाल निवास बाहिर गएर जोशीलाई सम्मान गरेको आयोजकले जनाएको छ । दार्जिलिङका वरिष्ठ स्रष्टा जीवन अधिकारीको प्रमुख आतिथ्यमा दमकमा आयोजित कार्यक्रममा नारायण गोपाल संगीत कोषका सदस्य संगीतकार राजकुमार श्रेष्ठले वरिष्ठ लोक गायक जोशीलाई दमक नगरीमा आएर सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे ।
सम्मानित जोशीका ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो भनेर…, रिटिङ रिटिङ नबजाउ विनायो…’ बोलका लोकगीत अहिले पनि कालजयी बनेर गुञ्जिरहन्छ ।
सो कार्यक्रममा दमक प्राज्ञ प्रतिष्ठानका अध्यक्ष एवम् समालोचक हेम अधिकारी, इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्की, साहित्य चौतारी बिर्तामोडका अध्यक्ष हस्त परियार, साहित्यकार सुमित्रा बाङदेल चेली, दिलिप राई सागर, संगीतकार अनिल फागोलगायतले बधाई तथा शुभकामना दिएका थिए ।