२०८३ बैशाख २२ गते , मंगलबार

सरकारी नीतिप्रति पत्रकार असन्तुष्ट

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख २१ गते , सोमबार
सरकारी नीतिप्रति पत्रकार असन्तुष्ट

बिर्तामोड । बलेन्द्र साह नेतृत्वको सरकारले अवलम्बन गरेको सरकारी  नीतिप्रति पत्रकारहरू असन्तुष्ट बनेका छन् । आज झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरूले सरकारले अवलम्बन गरेको नीतिप्रति असन्तुष्ट व्यक्त गरेका हुन् ।
नेपाल पत्रकार महासङ्घ झापा शाखाको साधारणसभाका अधिकांश वक्ताले सरकारले सञ्चारमाध्यम माथि लगाएको विभेदकारी नीतिको खुलेर विरोध जनाएका छन् । सरकारले निजी सञ्चारमाध्यमलाई बन्द गर्ने मनसायबाट सरकारी विज्ञापन बन्द गरिनु, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउनु जस्ता गतिविधिले नागरिकको सुसुचित हुने हक सरकारले खोस्न खोजेको उनीहरुले आरोप लगाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले सरकारको पछिल्लो कदमले स्थानीय सञ्चारमाध्यमलाई कुण्ठित बनाएको धारणा राखेका थिए ।
आचार्यले सरकारी सञ्चारमाध्यमलाई मात्र एकलौटी रूपमा सूचना प्रवाह गर्ने प्रवृत्तिको विरोध गर्दै त्यसलाई सच्याउन सरकारलाई आग्रह गरे । 
उनले निजी सञ्चारमाध्यमले स्थानीय तहमा विश्वसनीय सूचना प्रवाह गर्दै आएको उल्लेख गर्दै उनले सरकारी विज्ञापनबाट वञ्चित गरिँदा पत्रकार मात्र नभई आम नागरिक नै सूचनाबाट वञ्चित हुने बताए ।
उनले राष्ट्रिय मिडियामा प्रकाशन हुने ठेक्का–पट्टासम्बन्धी सूचनामा हुने कमिशन प्रवृत्तिलाई रोक्न सरकार अघि बढेको भए पनि त्यसैको बहानामा स्थानीय मिडियालाई लोककल्याणकारी सूचना रोक्नु लोकतन्त्रविरोधी भएको टिप्पणी समेत गरे ।
महासंघ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपानेले स्वागत गरेको कार्यक्रममा अध्यक्ष गिरीले वर्षभरि सञ्चालन गरिएका गतिविधिबारे जानकारी गराउँदै वर्तमान नीतिले स्थानीय सञ्चारमाध्यमलाई कमजोर बनाउने खतरा रहेको बताए । उनले सामाजिक सञ्जालमा आउने सबै सामग्रीलाई समाचारको रूपमा नलिन आग्रह गर्दै आधिकारिक र प्रमाणित सूचनाको पहिचान गर्नुपर्ने आवश्यकता औंल्याए ।
गिरीका अनुसार महासंघले स्थापना गरेको ‘सहारा पत्रकार उपचार कोष’लाई आगामी दिनमा दुई करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । हाल कोषमा करिब १ करोड ३२ लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिँदै उनले साधारणसभामै विभिन्न दाताबाट सहयोग प्राप्त भएको बताए ।
कार्यक्रममा कोशी प्रदेश अध्यक्ष भरत खड्का, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, पूर्व अध्यक्ष कृष्ण हुमागाईं, अग्रज पत्रकार चन्द्र भण्डारी, मोरङ अध्यक्ष सुशीला पाठक, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापा अध्यक्ष पुष्प खड्कालगायतले पनि सरकारी विज्ञापन नीतिप्रति आपत्ति जनाएका थिए ।
सो अवसरमा विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मानसमेत गरिएको थियो । भद्रपुर प्रेस क्लबलाई सम्मान गरिनुका साथै १२१ पटक रक्तदान गरेको भन्दै हल्दीबारी प्रेस क्लबका अध्यक्ष नेत्रबिक्रम बिमली र महासंघलाई सहयोग गरेको भन्दै शिक्षक तथा पत्रकार रञ्जित परियारलाई नगदसहित सम्मान गरिएको थियो ।
लैङ्गिक पत्रकारितामा सक्रिय योगदान पुर्याएको भन्दै गृष्मा सापकोटालाई २५ हजार रुपैयाँसहित ‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । हिमशिखर टेलिभिजनमा आवद्ध सापकोटालाई विशेश्वर प्रसाद बजगाईं (विपीन) र विनिता–होमकला बजगाईंले स्थापना गरेको उक्त पुरस्कार प्रदान गरिएको हो ।
त्यसैगरी महासंघ झापाले प्रकाशन गरेको ‘चौथो अङ्ग’ म्यागजिनको विमोचन पनि गरिएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमकै क्रममा बिर्तामोडस्थित होटल द किङ्सबरीकी कार्यकारी निर्देशक जानु धिताल र इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयलाई कदरपत्र प्रदान गरिएको थियो । साथै पत्रकार सहारा उपचार अक्षयकोषका लागि विभिन्न क्षेत्रका दाताबाट आर्थिक सहयोग गर्दै कोष वृद्धिमा रकम प्रदान गरेका थिए ।
कार्यक्रम सञ्चालन महासंघ झापाका सचिव राजु पाठकले गरेका थिए ।

सम्बन्धित समाचार