२०८३ बैशाख १८ गते , शुक्रबार

विशेष महाधिवेशनमा सक्रिय सहभागी बन्न झापा १ क्षेत्रीय समितिको आग्रह

sajilo news
परिवेश मिडिया
२०८२ पौष २४ गते , विहीबार
विशेष महाधिवेशनमा सक्रिय सहभागी बन्न  झापा १ क्षेत्रीय समितिको आग्रह

काकरभिट्टा । नेपाली कांग्रेस क्षेत्रीय समिति झापा १ ले पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणको मुख्य उद्देश्यसहित आयोजित विशेष महाधिवेशनमा सहभागी बन्न नेता, कार्यकर्ता आग्रह गरेको छ ।
क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले आज विज्ञप्ति निकालेर महाधिवेशन प्रतिनिधिसहित नेता, कार्यकर्तालाई पुस २७ र २८ गते काठमाडौको भृकुटीमण्डपमा हुने पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि आव्हान गरेका हुन् ।
सभापति बुढाथोकीले पार्टीका अग्रज, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि , पार्टीको भ्रातृ संघसंगठनका प्रतिनिधि, सबै तहका कांग्रेस नेता, कार्यकर्तालाई विशेष महाअधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन अपिल गरेका छन् । विषेश महाधिवेशनलाई राजनीतिक चुनौतीलाई गम्भीर निर्णय लिने विशेष अवसरका रूपमा अर्थ्याइएको विज्ञप्तिमा पार्टीको वैचारिक स्पष्टता र संगठनात्मक एकता कायम गर्ने ऐतिहासिक अवसर भएको उल्लेख छ ।
क्षेत्रीय समितिसँगै कांग्रेस मेचीनगर नगरसमितिले पनि विशेष महाधिवेशनमा सहभागी बन्न आग्रह गरेको छ । नगर समितिका चारजना पदाधिकारीले निकालेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, "  पार्टी परिवर्तनको पक्षमा उभिन, पार्टीको आन्तरिक लोकतन्त्रलाई बजबुत बनाउन, पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणका पक्षमा उभिनु यो बेला तपाईं, हाम्रो कर्तव्य र  साझा दायित्व बनेको छ ।" 

विज्ञप्तिमा नगर उपसभापतिद्व्य धनकाजी खत्री र योगेन थापामगर ,  सचिवद्व्य मनोज घिमिरे र मुकेश लिम्बुले हस्ताक्षर गरेका छन् । नगर सभापति सुवेश पनेरु ( सुदय ) ले भने हस्ताक्षर गरेका छैनन् । यसले सभापति पनेरु विशेष महाधिवेशनको विपक्षमा उभिएको प्रष्ट भएको नगर पदाधिकारीहरुको भनाइ छ ।
झापा १ मा  सभापति  बुढाथोकीसहित  राम कट्टेल, प्रेम सम्बाहाम्फे, तारावीर कटुवाल, असोककुमार पोखरेल, लोकराज ढकाल, पुष्पराज पौडेल, खड्गबहादुर धिमाल, कालु मेचे, दुर्गादेवी खतिवडा, चन्द्रकला भट्टराई, सुशीला रिजाल, शोभा श्रेष्ठ नेम्वाङ, डम्बरकुमारी थापामगर, टीका सुवेदी, धर्मराज घिमिरे,  रोहितकुमार  बुढाथोकी, पोषक दर्जी, गौतम मजुम्दार " विकी " विमल आचार्य, धर्मराज भण्डारी  र मणिकुमार उप्रेतीले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए ।
झापा १ का २५ जना महाधिवेशन प्रतिनिधि मध्ये केशवराज पाण्डे, पंकज नेम्वाङ, गोपाल तामाङ, उषा गुरुङ  र बालजित राईले हस्ताक्षर गरेका थिएनन् ।  झापा १ विशेष महाधिवेशनको नेतृत्व गरिरहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धा गर्दै आएको निर्वाचन क्षेत्र र मेचीनगर गृह नगरसमेत हो ।



सम्बन्धित समाचार