जसपाको १ नम्बर प्रदेश समिति नै नेपाली कम्युनिष्ट पार्टीमा समाहित
बिर्तामोड । जनता समाजवादी पार्टी (जसपा)को १ नम्बर प्रदेश समिति नै नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने निर्णय गरेको छ ।
२०८२ मंसिर ११ गते बसेको प्रदेश समिति बैठकले हालको राजनीतिक अन्योलतालाई चिरेर मुलुकलाई निकास दिनु अहिलेको आवश्यकता भएको भन्दै नयाँ राजनीतिक शक्ति निर्माण, राजनीतिक स्थिरता र मुलुकको निकासको निम्ति पुनर्गठनमा जुटीरहेको नेपाली कम्युनिष्ट पार्टीसंग एकिकरण भई अघि वढ्ने निर्णय गरेको छ ।
प्रदेश अध्यक्ष सनबहादुर राई र सचिव राम माण्डुपा राईले आज एक विज्ञप्ती जारी गरी सो को जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, '२०८२ भाद्र २३ र २४ गते व्यापक भ्रष्टाचार, सामाजिक सञ्जालको प्रतिवन्ध लगायतका विषयहरूलाई लिएर भएको जेनजी आन्दोलनले निर्वाचित सरकार ढल्यो, संसद विघटन भई नयाँ सरकार बनेको छ । फागुन २१ गते संसदको निर्वाचन समेत घोषणा भइसकेको छ ।
पछिल्लो विकसित परिस्थितिले राजनीतिक वृत्तमा अन्योलता छाएको छ। राजनीतिक दलहरूमा ठूलै बहस, ध्रुवीकरण, एकीकरण, पुनर्गठन मार्फत नयाँ राजनीतिक शक्ति निर्माण भइरहेको छ । हालको राजनीतिक अन्योलतालाई चिरेर मुलुकलाई निकास दिनु अहिलेको आवश्यकता हो । राजनीतिक दलहरू ध्रुवीकरणभन्दा एकीकरणमा गई देशले प्राप्त गरेको हाल सम्मको उपलब्धीको रक्षा गर्दै, जेन्जीहरूको मागलाई सम्बोधन गर्दै, २१औं शताब्दीको समृद्ध नेपाल निर्माणको निम्ति नयाँ राजनीतिक शक्ति निर्माणमा जुट्नु अहिलेको आवश्यकता हो ।
यहि कुरालाई आत्मसाथ गर्दै हामी जनता समाजवादी पार्टी (जसपा) को, १ नं. प्रदेश समितिको विभिन्न जिम्मेवारीमा रही काम भूमिका निर्वाह गरिरहेकोमा आजकै मितिबाट सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदै, यतिवेला नयाँ राजनीतिक शक्ति निर्माण, राजनीतिक स्थिरता र मुलुकको निकासको निम्ति पुनर्गठनमा जुटीरहेको नेपाली कम्युनिष्ट पार्टी संग एकिकरण भई अघि वढ्ने जानकारी गराउँदछौं ।
सङ्घीय समाजवादी पाटी हुँदै, जनता समाजवादी पार्टी (जसपा) सम्म कुशल नेतृत्व प्रदान गर्नुहुने अनुभव र ज्ञानको पर्याय अध्यक्ष अशोक कुमार राई ज्युप्रति उच्च सम्ममान सहित आभार प्रकट एवं धन्यवाद व्यक्त गर्दछौ ।'