नाउपा छोडेका रेशमले नेपाल थपेर नयाँ दल दर्ताका लागि दिए निवेदन
बिर्तामोड । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको मतभेदका कारण पार्टी छोडेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । उनले नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ताका लागि निवेदन दिएका हुन् ।
उनले दिएको निवेदन अहिले सनाखतको प्रक्रियामा रहेको छ ।
पार्टी घोषणा गरेका चौधरीसहितका नेताहरू बिहीबार दल दर्ताको प्रयोजनका लागि एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन् ।
निर्वाचन आयोगमा पेश भएको कागजातमा पार्टीको अध्यक्ष कबीर सोबलाई राखिएको छ । त्यस्तै, चुनाव चिह्न भने जाँतो प्रस्ताव गरिएको छ ।
२८ वर्षीय सोब कैलाली टिकापुरका हुन् । चौधरीसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका छन् ।
अब्दुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए ।
टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षक भएर पार्टी नाउपा खोलेका थिए ।
पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरूमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो ।