वाकससँग एकता गर्न नेकपा एसले बनायो वार्ता टोली
झापा । नेकपा एकीकृत समाजवादीले वामपन्थी, कम्युनिष्ट, समाजवादी पार्टी (वाकस) तथा समूहसँग एकता गर्न वार्ता टोली गठन गरेको छ । वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।
अध्यक्ष माधव नेपालद्वारा जारी अपानिको १३औँ बुँदामा भनिएको छ, वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्नको लागि वरिष्ठ नेता क. डा. बेदुराम भुसालको संयोजकत्वमा वरिष्ठ नेता कमरेड प्रमेश हमाल र उपाध्यक्ष कमरेड प्रकाश ज्वाला सदस्य रहनु भएको वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीले निम्न सैद्धान्तिक आधारमा वार्ता गर्नेछ ।’
पार्टी एकताका सैद्धान्तिक आधार पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने, नेपाली क्रान्ति जनवादी चरण पूरा गरेर समाजवादी चरणमा प्रवेश गरेको मान्ने, आम नेपाली जनता र दलाल नोकरशाही पूँजीपति वर्गविचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्ने उल्लेख छ ।
पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने, पार्टीको सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने, पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने, समाजवादी कार्यदिशा अंगाल्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अङ्गीकार गर्नेलगायतका आधारसहित वार्ता टोली गठन गरेको हो ।
आजै सकिएको माओवादीको बैठकले पनि समाजवादी मोर्चामा रहेका दलसँग एकता गर्न पहल गर्ने निर्णय गरेको थियो ।