२०८३ बैशाख १८ गते , शुक्रबार

एमाले-कांग्रेसको कार्यक्रममा गएनन् माओवादी-एस

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ३ गते , शुक्रबार
एमाले-कांग्रेसको कार्यक्रममा गएनन् माओवादी-एस

बिर्तामोड ।  नेकपा एमाले र नेपाली कांग्रेसले बिर्तामोडमा आयोजना गरेको संविधान दिवसको कार्यक्रममा अन्य राजनीतिक पार्टी सहभागी भएनन्  ।
संविधान दिवसको अवसरमा एमाले-कांग्रेसले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनीहरू सहभागी नभएका हुन् ।
शुक्रबार दिउँसो ३ बजे मुक्ति चोकमा आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउन नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईले आग्रह गरेपनि आफूहरूले छुट्टै कार्यक्रम गरेको नेकपा एकीकृत समाजवादी झापाका एक नेताले बताए । उनीहरुले पार्टी  कार्यालयमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएका थिए ।


कार्यक्रममा बोल्दै एकीकृत समाजवादी पार्टी झापाका सह-इन्चार्ज चन्द्रा श्रेष्ठले जेन जीले उठाएका पार्टी नेतृत्वमा पुस्ता हस्तान्तरण, प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता मुद्दा सम्बोधन हुनु पर्ने बताइन् ।
त्यस्तै जिल्ला अध्यक्ष बिपी भट्टराईले २०४६ साल यता सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानबिन हुनुपर्ने माग गरे । कार्यक्रममा केन्द्रदेखि नगरसम्मका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यता नेकपा माओवादी केन्द्रले साँझ ५ बजे मुक्ति चोकमा द्वीप प्रज्वलन गरी संविधान दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला संयोजक राजु आचार्य (अग्नी)ले संविधान मास्न खोज्ने कांग्रेस-एमालेले संविधान दिवसको कार्यक्रम गरेर संविधानको उपहास गरेको आरोप लगाए । उनले कांग्रेस-एमालेको दुई तिहाईको दम्भ र भ्रष्टाचारका कारण जेन जी आन्दोलन भएको भन्दै उनीहरूको मागप्रति पार्टीको ऐक्यबद्धता रहेको बताए ।


बिर्तामोड नगर कमिटीको आयोजनामा भएको कार्यक्रममा प्रदेश सदस्य भवानी दङ्गाल, नगर इन्चार्ज कुबेर श्रेष्ठ (अरुण), नगर अध्यक्ष मोहन सुब्बा लगायत प्रदेशदेखि नगर तहसम्मका नेता कार्यकर्ताहरु सहभागी थिए । 

सम्बन्धित समाचार