प्रतिगामी कदम विरुद्ध गोलबद्ध हुन माके झापाको अपील
बिर्तामोड । नेकपा माओवादी केन्द्र झापाले टोलटोलमा सुरक्षा दस्ता तयार गर्न पार्टीका कार्यकर्ताहरुलाई अपिल गरेको छ । पार्टीले टोलटोलमा सुरक्षा दस्ता तयार गरी नागरिकको जिउधनको रक्षामा खटिन कार्यकर्ताहरुलाई अपिल गरेको हो ।
माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नीले बिहिबार एक विज्ञप्ति जारी गर्दै भविष्यप्रति आशावादी हुन र विषम परिस्थितिमा समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
आचार्यले भ्रष्टाचार मुक्त उन्नत लोकतन्त्रको सपना बोकेर शुसासनको पक्षमा जेन-जी पुस्ताले आव्हान गरेको आन्दोलनमा शाहदत प्राप्त गर्नुहुने सबैमा भावपूर्ण श्रद्धान्जली साथै परिवारजनमा समवेदना व्यक्त गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
संयोजक आचार्यले जेन जी पुस्ताले चलाएको आन्दोलनको समर्थन गर्दै सवैखाले प्रतिगामी र राष्ट्रघाती कदमका बिरुद्धमा गोलबद्ध भई प्रतिरोधका निमित्त तयार रहन आम न्यायप्रेमी दाजुभाई दिदीबहिनीहरुलाई अपिलसमेत गरेका छन् ।
जेनजी पुस्ताले भने बमोजिम स्वतन्त्र व्यक्तिको नेतृत्वमा संविधानबमोजिम अन्तरिम सरकार गठन गरि शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सम्बद्ध पक्षसंग माग गर्दै संक्रमणकालिन परिस्थितिको फाईदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी षड्यन्त्र विरुद्ध सचेत रहन आग्रह गरेका छन् । 
