उपसभामुख रानाको चुनौती– ‘आरोप प्रमाणित भए जेल हाल्नु’
झापा । सत्तारुढ दलहरुले संवैधानिक निकायमा कब्जा जमाउने उद्धेश्यले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेपछि रानाले कडा चुनौति दिएकी छन् ।
हाल अमेरिकामा रहेकी रानालाई केहि समय पहिले अमेरिकामा हुने कार्यक्रममा सहभागी हुन जान लागेको भन्दै असान्दर्भिक व्यक्तिहरुको अन्तरवार्ताका लागि दुतावासलाई पत्र लेखेको बिषयलाई सत्तारुढ दलहरुले हतियार बनाएर उनलाई पदबाट हटाउने चलखेल गरिरहेका छन् ।
‘म त निद्रामै थिएँ । फोन र म्यासेजहरू आएपछि थाहा पाएँ,’ अमेरिकाबाट रानाले सुनाइन् ।
कांग्रेस र एमालेले सामान्य विषयलाई नै संगीन आरोप लगाउनेगरी अघि बढाएको गुनासो उपसभामुख रानाको छ ।
‘बालबालिकाको क्षेत्रमा काम गरिरहेको व्यक्ति हुँ । बालबालिकाको लागि लडिरहेको छु । मेरो जिन्दगी नै खुला किताब जस्तो छ । राजनीतिक स्वार्थको लागि म माथि संगीन आरोप लगाइयो,’ उनले भनिन् ।
उपसभामुख रानाले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिइन् । ‘अपराध गरेको प्रमाणित भए जेल हाल्न र्पयो नि । सामान्य विषयमा स्वार्थको लागि आरोप लगाउन मिल्छ ? कस्तो राजनीतिक संस्कृति हो ? यही हो लोकतन्त्र ?,’ उनले प्रश्न गरिन् ।
उपसभामुख रानाले आफू १३ भदौमा नेपाल फर्किने बताइन् ।
‘म काममा आएको हुँ । डेमोक्रेसी सम्बन्धीको कार्यक्रम हो । एक दुई वटा मिटिङ अझैं बाँकी छ । १३ गते नेपाल फर्किन्छु,’ उनले भनिन् ।
उपसभामुख रानालाई हटाउने तयारी गरेपछि विपक्षी दलहरूले पनि आन्तरिक छलफल गरेका छन् । छलफलपछि उनीहरूले यो विषयको विरोधमा आफ्नो पार्टी उत्रने निष्कर्ष निकालेका छन् ।
यसैबीच, उपसभामुको विषय पटकपटक सत्तारुढ दलहरूले गिजोलेको भन्दै रास्वपाले जनतासामु नै लैजानपर्ने प्रस्ताव विपक्षी दलको बैठकमा राखेको थियो ।
जुन विषयमा विपक्षीहरूको सहयोग चाहिएको रास्वपाको भनाइ छ ।
शेखरसँग फोन संवाद
यस्ता विषयहरू निरन्तर मिडिया र आफ्नो फोनमा आएपछि उपसभामुख रानाले अमेरिकाबाटै सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँग फोन संवाद गरिन् ।
रानाका अनुसार, कोइरालासँग उनले पछिल्लो तयारी र हुनसक्ने परिदृश्यबारे छलफल गरेकी थिइन् ।
‘मैले नेपालमा पछिल्ला दिनमा भइरहेका घटनाक्रमबारे जानकारी लिएँ,’ रानाले भनिन्, ‘उहाँले यो घटनाक्रममा मेरो साथ नै छ भन्नुभएको थियो ।’
कांग्रेस–एमालेले दुई तिहाइ पुर्याएर उपसभामुख हटाउने तयारी गर्दैगर्दा शेखर पक्षले भने हस्ताक्षर गरेको छैन ।
शेखर समूहको यो मुभलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ । स्मरणीय छ, करिब १ वर्षअघि पनि उपसभामुख रानालाई हटाउने प्रयास हुँदा शेखर विपक्षमा उभिएका थिए ।