एमालेको विधान महाधिवेशनमा २३९२ सहभागी, तयारी तीब्र
झापा । नेकपा एमालेले भदौ २० देखि २२ गतेसम्म गर्न लागेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितीको बैठकमा संगठन विभागले पेस गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । पार्टी स्थायी कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतितिनिधि र २६४ जना आयोजकको रूपमा सहभागी हुने छन् ।
२०७८ मा चितवनमा भएको १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहने छन् । प्रतिनिधिहरूलाई डिजिटल कार्डको व्यवस्था गरिने छ ।
शनिबार भएको बैठकमा महाधिवेशनलाई भव्य बनाउनका लागि सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय भएको छ । गौतमका अनुसार बागमती प्रदेश, ललितपुर जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरूका तर्फबाट स्वागतद्वार राखिने भएको हो । यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवकको जिम्मा युवा संघ, खेलकुद महासंघ लगायतका जनसंगठनले लिएका छन् ।
बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित न्यूज डेस्क स्थापना गर्ने निर्णय भएको छ । यसैगरी मिडियालाई महाधिवेशनको रिपोर्टिङका लागि पासको पनि व्यवस्था गरिने भएको छ ।
महाधिवेशनको मुल नारा तय गर्ने काम भइरहेकाले केही दिनभित्रै महाधिवेशनको प्रचार व्यापक बनाउन फ्लयार भिडियो सामग्रीहरू उत्पादन गरेर नेता कार्यकर्ताले सामाजिक सञ्जालमा व्यापक बनाउने तयारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैँले गर्नुपर्ने निर्णय गरिएको छ ।
गौतमले दिएको जानकारी अनुसार सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको प्रबन्ध पार्टीका विभिन्न कमिटीहरूले गर्ने छन् । महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सकसहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ ।
एमालेले भदौ १० गतेसम्ममा मातहतका कमिटीलाई विधानका बारेमा सुझाव दिन समय दिएको छ । सबै प्रदेशहरूले सुझाव पठाएपछि तिनीहरूलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार गर्ने गृहकार्य भइरहेको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, विधान संशोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेलले पेस गर्ने छन् ।
एमालेले महाधिवेशन सफल पार्नका लागि यसअघि नै विभिन्न कमिटीहरू बनाएर नेताहरूलाई जिम्मेवारी तोकिसकेको छ। सबै कमिटीहरूले महाधिवेशन तयारीको काम गरिरहेको गौतमले जानकारी दिए । व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र एमालेले नीति र विधि तय गर्ने उत्सव भएकाले सबैलाई गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।
महासचिव पोखरेलले व्यवस्थपनको जिम्मा पाएका सबै समितिहरूलाई तीव्रताका साथ काम गर्न पनि निर्देशन दिएका छन् । एमालेले आजदेखि महाधिवेशनको काउन्ट डाउन (दिनगन्ती) पनि सुरु गर्ने भएको छ ।