सत्ता सम्हालेको १४ महिनापछि भदौमा भारत जाँदै प्रधानमन्त्री ओली
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको १४ महिनापछि भारत भ्रमणको चर्चा भएको छ । भदौ अन्तिम साता ओलीको भारत भमण निश्चित भएको भनिए पनि परराष्ट्र मन्त्रालयले भने यो विषयमा औपचारिक रुपमा केही बताएको छैन ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार भदौ ३१ गते उनी दुईदिने भारत भ्रमणमा जान लागेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणको मिति तय भइनसके पनि तयारी थालिसकेको बताए ।
‘प्रधानमन्त्रीको भ्रमण निश्चित भइसकेको छ । भ्रमण सफल बनाउन हामीले तयारी पनि थालिसकेका छौं,’ उनले भने, ‘भ्रमण तालिका र मिति केही दिनभित्रै सार्वजनिक गर्छौं ।’
२०८१ असार ३१ मा प्रधानमन्त्री नियुक्त भएयता ओलीले भारत भ्रमणका लागि निरन्तर प्रयास गर्दै आएका थिए । तर भारतीय पक्षले चासो नदेखाउँदा प्रधानमन्त्री ओलीको भ्रमणको हुन सकेको थिएन । प्रधानमन्त्री ओलीले गत मंसिरमा उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गरेका थिए । चीनबाट स्वदेश फर्केकै दिन पनि ओलीले भारत भ्रमण तय गर्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयमा कूटनीतिक तहमा छलफल भैरहेको थियो । यस विषयमा एक महिनाअघि नै छलफल थालिएको थियो । भ्रमणबारे प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय, उद्योग र वाणिज्य मन्त्रालयले समेत तयारी थालेका छन् । प्रधनानमन्त्री तहबाट लामो कोसिस भएपछि भ्रमणको मिति तय भएको बताइएको छ ।
यसअघि प्रधानमन्त्री ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंकक जानुअघि भारत भ्रमणको चर्चा भएको थियो । गत वैशाख र असारमा पनि भारत भ्रमण हुने चर्चा चलेको थियो ।
बिम्स्टेक शिखर सम्मेलनका क्रममा चैत २२ गते ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिच बैंककस्थित होटल माडारिन ओरियन्टलमा भएको भेटवार्तामा नेपालद्वारा प्रस्तावित भ्रमण मितिलाई भारतको आन्तरिक पात्रोका आधारमा आपसी सहमतिमै टुंगो लगाउने गरी छलफल भएको भएको थियो । बिमस्टेक शिखर सम्मेलनका क्रममा दुवै प्रधानमन्त्रीबिच एक्लाएक्लै भेट भएको थियो । बैंककबाट स्वदेश फर्केलगत्तै ओलीले आफू भारत भ्रमणमा जाने बताएका थिए ।